विपक्षी गठबन्धनले संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने

टीकाराम तामाङ

काठमाडौं — प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी नौ दलीय गठबन्धनले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नदिने निर्णय गरेको छ । बुधबार दिउँसो नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले संसदमा संशोधन प्रस्ताव अगाडि बढाउन खोजिए अवरुद्ध गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी नौ दलीय गठबन्धनले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नदिने निर्णय गरेको छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले संसदमा संशोधन प्रस्ताव अगाडि बढाउन खोजिए अवरुद्ध गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) का सांसद शिवलाल थापाले सरकारले जबरजस्ती संशोधन प्रस्तावको प्रक्रिया अगाडि बढाउन खोजे विगतमा जस्तै संसदमा अवरोध गरिने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए । तर, संसदमा थाती रहेको निर्वाचन विधेयक, महाअभियोग प्रस्ताव लगायतलाई संसद बैठकको कार्यसूची बनाएमा सदन अवरोध नगर्ने निर्णय गरिएको उनले बताए ।

एमाले नेता भीम रावलले स‌ंशोधन विधेयक फेल भएमा मधेसी मोर्चाले नमान्ने निश्चित रहेकोले त्यो अवस्थामा सरकारले के गर्छ भन्ने स्पष्ट धारणा माग गर्ने निर्णय भएको जानकारी दिए । उनले सरकारको धारणा नआएसम्म विधेयक प्रकियामा नलैजान भनेको बताए ।

बैठकले संशोधन लगायतका विवादित विषयमा अझै सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग समेत छलफल गर्ने निष्कर्ष निकालको छ । गठबन्धनले मोर्चाले चुनावमा प्रतिवद्धता जनाए संशोधन प्रस्तावमा छलफल गर्न सकिने पनि बताएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७३ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

श्यामसुन्दर शशि

जनकपुर — आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ ।

बिहान जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घर घेराउ गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए । उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ ।

बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए । त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बन्यो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम यहाँ आएका हुन् । गौतमविरुद्ध हिजैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७३ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्