१ अर्बको विमान १६ करोडमा लिलाम हुँदै

काठमाडौं — नेपाल एयरलाइन्सले २९ वर्षअघि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई १६ करोड ६२ लाख रूपैयाँसम्ममा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ ।

१ अर्बको विमान १६ करोडमा लिलाम हुँदै

नेपाल एयरलाइन्सले २९ वर्षअघि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ ।

निगमले नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको नाइनएन–एसीए कल साइन भएको बोइङ ७५८–२०० सिरिजको विमानलाई लिलाम गर्न हालै छानिएको परामर्शदाता कम्पनी स्वीटजरल्याण्डको फिनटेक एभिएसन सर्भिसले निगमलाई यो मूल्य सुझाएको हो । निगम स्रोतका अनुसार, फिनटेकका विज्ञहरुले काठमाडौंमा आइ यो विमानको अहिलेको बजार मूल्य १६ करोड ६२ लाख रूपैयाँ निर्धारण गरेका हुन् ।

ती विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ्ग गियर (पाँग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिट लगायतको मूल्यांकन गरेका थिए । यी सबैको अध्ययन गरेर परामर्शदाता फिनटेकले निगमलाई मंसिरमै प्रतिवेदन बुझाइसकेको थियो ।

लिलामबारे निगमले निणर्य गरेर सूचना सार्वजनिक भने गरिसकेको छैन । ‘परामर्शदाताले यसको अहिलेको मूल्य तोकेको छ, तर यस्लाई कतिमा बिक्री गर्ने त्यो सञ्चालक समितिले निणर्य गर्ने विषय हो,’ निगमका एक निर्देशकले भने ।

उनका अनुसार, सञ्चालक समितिले यसको लिलाम मूल्य जति पनि तोकेर बिक्री गर्न सूचना जारी गर्ने अधिकार छ । तर, परामर्शदाताले तोकेको मूल्यमा १० प्रतिशत तल/माथि (प्लस/माइनस) गरी लिलाम गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अनुसार, यदि १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उस्लाई दिनुपर्ने हुन्छ ।

निगमले यो विमानको इन्जिन अझ केही सय घन्टा उडानको लागि योग्य रहेको जनाएको छ । ‘अब यो विमान यात्रु ओसार्न होइन कार्गो ढुवानीकालागि प्रयोग गर्न सकिन्छ,’ निगमका एक इन्जिनियरले कान्तिपुरलाई भने, ‘कुनैपनि एजेन्टले खरिद गरेर नेपालबाट आफ्नो मुलुकसम्म यो विमान उडाएर लैजान सक्ने छ । तर दुबै इन्जिनको पूर्ण मर्मत नगरी भने फेरि उडाउन सकिने छैन ।’

निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ थियो । यस्को नेपाली नाम कर्णाली हो । यो खरिद गरिएको एक वर्षपछि ०४४ सालताका खरिद गरिएको यही मोडलको अर्को विमान कल साइन नाइनएन एसीबी (नेपाली नाम गण्डकी) भएको विमान भने अहिले उडानमै छ । १ सय ९० यात्रु क्षमताको यसलाई उडाने निगमसँग १७ जना पाइलट छन् । यो विमानलाई पनि केही वर्षभित्रै लिलाम गर्ने निगमको योजना छ । अहिले निगमले अन्तर्राष्ट्रिय रुटमा दुइवटा नयाँ एयरबस मार्फत उडान भरिरहेको छ । यसलाई उडाउने २१ जना पाइलटको छुट्टै टिम रहेको छ ।

एजेन्सीहरुका अनुसार, बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि (२००४ अक्टोवर) देखि बन्द गरिसकेको छ । सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले त्यसबेला यो मोडल खरिद गरेर नेपाललाई पूर्वमा जापान हुँदै कोरियासम्म र पश्चिममा युरोपसम्म जोडेको थियो । २२ वर्ष मात्रै उत्पादन गरिएको यो सिरिजका कुल विमान २००७ सम्म नेपाल लगायत विश्वभर १ हजार १९ वटा विभिन्न एयरलाइन्सहरुले उडाउँदै आएका थिए । सन २००२ मा यो विमानको बजार मूल्य कम्तीमा ६ अर्ब रुपैयाँ थियो ।

जहाज पूरानो हुँदै गएपछि मर्मत लागत बढ्न थालेपछि निगमले परामर्शदातामार्फत यस्लाई मूल्यांकन गर्दै लिलाम गर्ने निर्णय गरेको हो । यस्को मूल्यांकन गर्ने फिनटेकले तोकेको मूल्यलाई निगमले पर्यटन सचिव शंकरप्रसाद अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकबाट पारित गराउनु पर्छ । अहिले बोर्डका दुई सदस्य रिक्त रहेकाले लिलाम मूल्य सदर भइसकेको छैन ।

यो विमान २९ वर्षअघि तत्कालीन शाही नेपाल वायु सेवा निगमकालागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेत संलग्नतामा खरिद गरिएको थियो । निगमको कर्पोरेट विभागका अनुसार, त्यसबेला १ डलरको सटही दर २३ रुपैयाँ थियो ।

प्रकाशित : फाल्गुन १२, २०७३ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?