बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण सुरु, एउटै जग्गाधनीले हात पार्छन् ४ करोड

सुदीप कैनी

गोरखा — जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीले मुआब्जा पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलोपटक बिहीबार ३२ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ ।

घ्याल्चोक गाविसका १२ र दर्बुङका २० जना जग्गाधनीको मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा जम्मा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । पहिलो चरणमा मुआब्जाबापत ४ करोड ७२ लाख ७८ हजार ५ सय २१ रुपैयाँ प्रभावितहरूलाई वितरण गरिएको हो । ‘एकजना जग्गाधनीले एक लाखदेखि ८० लाखसम्म पाएका छन्,’ उनले भने, ‘आयोजना विकास समितिको नाममा जग्गा पास भएपछि जग्गाधनीलाई रकम भुक्तानी दिने गरेका छौं ।’ जिल्लाका १४ वटै प्रभावित गाविसमा मुआब्जा वितरण गर्दा एउटै जग्गाधनीले ४ करोडसम्म रकम हात पार्नेछन् ।

प्रभावितलाई मुआब्जा रकम दिएसँगै जग्गा मालपोत कार्यालयबाट आयोजनाको नाममा नामसारी गरिएको छ । डुबानमा पर्ने अन्य जग्गाको रुजु गर्दै मुआब्जा वितरणलाई निरन्तरता दिने सहायक प्रजिअ शर्माले बताए । प्रभावितलाई मुआब्जा रकम दिन वाणिज्य बैंकमा शून्य मौज्दातमा खाता खोलिएको छ । ‘प्रक्रिया पूरा गरेर आयोजनाले जग्गाधनीका व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, खातामा गएको रकम उनीहरूले झिकेर चलाउन पाउँछन्,’ उनले भने ।

गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक, भुम्लीचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जाको रकम दिइने प्रजिअ जितेन्द्र बस्नेतले बताए । मुआब्जाका लागि ७ सयले निवेदन दिएका छन् । जग्गाको अवस्था मालपोत कार्यालयमा बुझेर प्रभावितलाई तोकिएको दररेटमा मुआब्जा उपलब्ध हुने प्रजिअ बस्नेतले बताए । पहिलो चरणमा करिब ४ हजार रोपनी जग्गाधनीले मुआब्जा पाउने जानकारी उनले दिए । सरकारले वितरण गर्न जिल्ला प्रशासनको खातामा २ अर्ब ५० करोड रुपैयाँ निकासा पठाएको छ ।

राष्ट्रिय गौरव मानिएको बूढीगण्डकी आयोजनाबाट गोरखा जिल्लाका १४ र धादिङका १३ गरी २७ गाविस डुबानमा पर्नेछन् । धादिङतर्फ पनि मुआब्जा वितरणका लागि जग्गाको रुजु गर्ने काम भइरहेको विकास समितिले जनाएको छ । धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई पहिलो चरणमा मुआब्जा वितरण गर्ने तयारी गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए । गोरखास्थित मुआब्जा निर्धारण समितिले गत मंसिरमा ११ प्रकृतिको जग्गा वर्गीकरण गरेर मुआब्जा निर्धारण गरेको थियो । धादिङतर्फको समितिले पनि पुसमा सोही प्रकृति र आधार बनाएर मूल्य तोकेको छ । डुबान क्षेत्रका जग्गाको मूल्य प्रतिरोपनी न्यूनतम ५ लाख २५ हजारदेखि अधिकतम ८ लाख ३५ हजार तोकिएको छ ।

धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण गर्न बाँकी छ । महत्त्वपूर्ण बजार क्षेत्र रहेका कारण छुट्टै मापदण्ड बनाएर मुआब्जा निर्धारण गरिने समितिले जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७३ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१ अर्बको विमान १६ करोडमा लिलाम हुँदै

काठमाडौं — नेपाल एयरलाइन्सले २९ वर्षअघि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई १६ करोड ६२ लाख रूपैयाँसम्ममा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ ।

नेपाल एयरलाइन्सले २९ वर्षअघि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ ।

निगमले नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको नाइनएन–एसीए कल साइन भएको बोइङ ७५८–२०० सिरिजको विमानलाई लिलामगर्न हालै छानिएको परामर्शदाता कम्पनी स्वीटजरल्याण्डको फिनटेक एभिएसन सर्भिसले निगमलाई यो मूल्य सुझाएको हो । निगम स्रोतका अनुसार, फिनटेकका विज्ञहरुले काठमाडौंमा आइ यो विमानको अहिलेको बजार मूल्य १६ करोड ६२ लाख रूपैयाँ निर्धारण गरेका हुन् ।

ती विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ्ग गियर (पाँग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिट लगायतको मूल्यांकन गरेका थिए । यी सबैको अध्ययन गरेर परामर्शदाता फिनटेकले निगमलाई मंसिरमै प्रतिवेदन बुझाइसकेको थियो ।

लिलामबारे निगमले निणर्य गरेर सूचना सार्वजनिक भने गरिसकेको छैन । ‘परामर्शदाताले यसको अहिलेको मूल्य तोकेको छ, तर यस्लाई कतिमा बिक्री गर्ने त्यो सञ्चालक समितिले निणर्य गर्ने विषय हो,’ निगमका एक निर्देशकले भने ।

उनका अनुसार, सञ्चालक समितिले यसको लिलाममूल्य जति पनि तोकेर बिक्री गर्न सूचना जारी गर्ने अधिकार छ । तर, परामर्शदाताले तोकेको मूल्यमा १० प्रतिशत तल/माथि (प्लस/माइनस) गरी लिलाम गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अनुसार, यदि १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उस्लाई दिनुपर्ने हुन्छ ।

निगमले यो विमानको इन्जिन अझ केही सय घन्टा उडानको लागि योग्य रहेको जनाएको छ । ‘अब यो विमान यात्रु ओसार्न होइन कार्गो ढुवानीकालागि प्रयोग गर्न सकिन्छ,’ निगमका एक इन्जिनियरले कान्तिपुरलाई भने, ‘कुनैपनि एजेन्टले खरिद गरेर नेपालबाट आफ्नो मुलुकसम्म यो विमान उडाएर लैजान सक्ने छ । तर दुबै इन्जिनको पूर्ण मर्मत नगरी भने फेरि उडाउन सकिने छैन ।’

निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ थियो । यस्को नेपाली नाम कर्णाली हो । यो खरिद गरिएको एक वर्षपछि ०४४ सालताका खरिद गरिएको यही मोडलको अर्को विमान कल साइन नाइनएन एसीबी (नेपाली नाम गण्डकी) भएको विमान भने अहिले उडानमै छ । १ सय ९० यात्रु क्षमताको यसलाई उडाने निगमसँग १७ जना पाइलट छन् । यो विमानलाई पनि केही वर्षभित्रै लिलामगर्ने निगमको योजना छ । अहिले निगमले अन्तर्राष्ट्रिय रुटमा दुइवटा नयाँ एयरबस मार्फत उडान भरिरहेको छ । यसलाई उडाउने २१ जना पाइलटको छुट्टै टिम रहेको छ ।

एजेन्सीहरुका अनुसार, बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि (२००४ अक्टोवर) देखि बन्द गरिसकेको छ । सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले त्यसबेला यो मोडल खरिद गरेर नेपाललाई पूर्वमा जापान हुँदै कोरियासम्म र पश्चिममा युरोपसम्म जोडेको थियो । २२ वर्ष मात्रै उत्पादन गरिएको यो सिरिजका कुल विमान २००७ सम्म नेपाल लगायत विश्वभर १ हजार १९ वटा विभिन्न एयरलाइन्सहरुले उडाउँदै आएका थिए । सन २००२ मा यो विमानको बजार मूल्य कम्तीमा ६ अर्ब रुपैयाँ थियो ।

जहाज पूरानो हुँदै गएपछि मर्मत लागत बढ्न थालेपछि निगमले परामर्शदातामार्फत यस्लाई मूल्यांकन गर्दै लिलामगर्ने निर्णय गरेको हो । यस्को मूल्यांकन गर्ने फिनटेकले तोकेको मूल्यलाई निगमले पर्यटन सचिव शंकरप्रसाद अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकबाट पारित गराउनु पर्छ । अहिले बोर्डका दुई सदस्य रिक्त रहेकाले लिलाममूल्य सदर भइसकेको छैन ।

यो विमान २९ वर्षअघि तत्कालीन शाही नेपाल वायु सेवा निगमकालागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेत संलग्नतामा खरिद गरिएको थियो । निगमको कर्पोरेट विभागका अनुसार, त्यसबेला १ डलरको सटही दर २३ रुपैयाँ थियो ।

प्रकाशित : फाल्गुन १२, २०७३ २०:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT