कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कलिलैमा बिहे, वर्षैपिच्छे सन्तान

मागीभन्दा भागेर बिहे गर्ने धेरै
विमल खतिवडा

काउले (चितवन) — काउले ३ स्थित तार्सेलिङकी सुनकुमारीले १४ वर्षकै उमेरमा सन्तबहादुर चेपाङसँग भागेर बिहे गरिन् । अहिले उनको उमेर २४ पुग्यो । ४ सन्तान जन्माइसकिन् । पछिल्लो सन्तान वर्ष दिन नपुग्दै उनी पुन: गर्भवती भएकी छन् ।

कलिलैमा बिहे, वर्षैपिच्छे सन्तान

पहिलो सन्तानको उमेर ८ वर्ष मात्र छ । जेठोपछि जन्मिएका छोरा बाँचेनन् । त्यसपछि ३ वर्ष र १ वर्षका छोरी छन् । घरमा खाने अन्न छैन । मकै र कोदोले ६ महिना पुग्दैन । वर्ष दिनकी छोरी रेखदेख गर्न समस्या भोगिरहेका बेला उनी गर्भवती बन्न पुगिन् । ‘महिनावारी नभई बच्चा बसेछ,’ लजाउँदै भनिन्, ‘कति महिना भयो, थाहा छैन ।’

पेटभरि खाने अन्न छैन । शरीर ढाक्ने राम्रो लुगा छैन । सबै सन्तान साना छन् । कान्छी छोरीले पोसिलो खानेकुरा नपाउँदा हातखुट्टा सुक्दै गएको छ । सन्तानले राम्रो स्याहार पाएका छैनन् । तर, उनी फेरि आमा बन्ने तयारीमा छिन् । ‘पढ्न पाएन, चाँडै बिहे गरियो,’ उनले भनिन्, ‘पेटभरि खान नपाए पनि बच्चा पाउन सकिँदोरैछ, त्यही भएर फेरि बच्चा बसेछ ।’

यो समस्या उनको मात्र होइन । गाउँमा अझै बालविवाह हट्न सकेको छैन । कलिलो उमेरमा बिहे गर्ने क्रम पहिलाको जस्तै छ । ‘मैले १२ वर्षको उमेरमा बिहे गरें, अहिले २४ वर्ष पुगें,’ नीरमाया चेपाङले भनिन्, ‘यो उमेरसम्म ४ छोराछोरी जन्माइसकें ।’ उनका ९, ७ र ३ वर्षका ३ छोरी र २ वर्षका एक छोरा छन् । उनी बिहे गरेको ३ वर्षमा आमा बनिन् । ‘३ कक्षाभन्दा माथि पढ्न सकिएन,’ उनले भनिन्, ‘आफूले नपढे पनि छोराछोरीलाई दु:ख–सुख पढाएका छौं ।’ गाउँमा मागी विवाहभन्दा भागेर बिहे गर्ने परम्पराजस्तै बनेको छ । युवायुवती आपसमा मन परापर भए उमेरको हिसाब हुँदैन । उमेर पुगेर बिहे गर्नेको संख्या कमै छ ।

‘तरुनी भए आँखा लाग्छ भनेर होला, कम उमेरमै बिहे गर्ने चलन छ,’ गाउँकै अगुवा नक्कलीमाया चेपाङले भनिन्, ‘तर सानै उमेरमा बिहे गर्दा दु:ख बढी हुन्छ ।’ उनले गरिबी र अशिक्षाले गर्दा यस्तो समस्या रहेको बताइन् । नजिकमा विद्यालय हुँदैनन् । घण्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । त्यही भएर दु:ख गरेर पढ्न जानेको संख्या कम हुन्छ । पढ्दापढ्दै भागेर बिहे गरी पढाइ छाड्नेको जमात बाक्लो छ । ‘१४ वर्षको उमेरमा बिहे भयो,’ सीता चेपाङले भनिन्, ‘कम उमेरमा बिहे गर्दा जिम्मेवारीको काम गर्न समस्या हुँदोरैछ ।’

उनले गाउँमा कम उमेरमा बिहे नगर्न सल्लाहसुझाव दिने गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइन् । कलिलैमा आमा बन्दा कमजोर हुने, टाउको दुख्ने, पेट दुख्ने समस्या भोग्नुपर्छ । ‘यो गाउँमा १२/१३ वर्षकै उमेरमा अहिले पनि बिहे हुने गरेको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रअ रमेश रसाइलीले भने, ‘यो क्रम कक्षा ६ भन्दा माथि पढ्दै गर्नेमा बढी छ, जसले गर्दा माथिल्लो कक्षामा विद्यार्थीको संख्या कम छ ।’ उनका अनुसार विद्यालयमा ८० प्रतिशत चेपाङ विद्यार्थी छन् । पढ्दापढ्दै बिहे गर्ने र पढाइ छाड्नेको संख्यासमेत बर्सेनि बढ्दो छ ।

समस्यै समस्या
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. सुनीलमणि पोखरेलका अनुसार कम उमेरमा गर्भ रहँदा शरीर सन्तान पाउनका लागि विकास भइसकेको हुँदैन । आमालाई रक्तअल्पता हुने खतरा हुन्छ । महिना नपुग्दै बच्चा जन्मिने र कम तौलको हुने जोखिम उत्तिकै रहन्छ । ‘कम उमेरमा बिहे गर्दा गर्भपतन गराउने बढी हुन्छन्,’ उनले भने, ‘शिशु मृत्युदरसमेत बढ्छ ।’ सानै उमेरमा बिहे गर्दा पाठेघरको पूर्ण विकास भइसकेको हुँदैन । त्यस्तो बेला पाठेघर फुट्ने र आमाको ज्यान जाने खतरा हुन्छ । यस्तो समस्या मध्यम र न्यून आयस्तर भएका समुदायमा बढी हुन्छ । जसले गर्दा गर्भवती भएपछि आमाले पोसिलो खाना खान पाउँदैनन् ।

आमा र बच्चा दुवैलाई कुपोषण हुने खतरा रहन्छ । ‘कम उमेरमा बिहे गर्दा स्वास्थ्य समस्या धेरै आइपर्छ,’ उनले भने, ‘कम उमेरबाटै यौन सम्पर्क गर्दा पछि पाठेघरको मुखको क्यान्सर हुने, आङ खस्ने समस्या आइपर्छ ।’ यो सबै बालविवाहले निम्ताएको समस्या हो । गरिबी र अशिक्षा यसका मुख्य कारक हुन् । ‘कम उमेरमै बिहे गर्ने क्रम गाउँघरमा बढी छ, त्यो पनि न्यून आयस्तर भएका समुदायको परिवारमा छ,’ उनले भने, ‘यसको सिकार विकट गाउँ/ठाउँ बनेका छन्, त्यही भएर बालविवाह अझै रोकिन सकेको छैन ।’

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?