तुइनमुक्त हुँदै कालिकोट

डेढ वर्षमा १३ झोलुंगे पुल
तुलाराम पाण्डे

खुलालु (कालिकोट) — तुइनबाट कर्णाली तर्दा ५ वर्षअघि खसेर बेपत्ता भएका माल्कोट–७ का ३० वर्षीय मञ्ज बोहराका काका रतने सोमबार खुलालु पुल उद्घाटन हुने सुनेर खुसी हुँदै ४ घण्टा पैदल ओरालो झरे । सशस्त्र द्वन्द्वमा बाबियाको लठ्ठामा झुन्डिएर कर्णाली वारपार गर्ने स्थानीयले २०६४ वैशाख १ गते सुधारिएको तुइन पाएका थिए । त्यही तुइन तर्ने बेला रतनेका भतिजाले ज्यान गुमाएका थिए ।

५ छोरी र एक छोराको लालनपालन गर्न पत्नी दुदालाई निकै कठिन छ । ‘पुल नहुँदा झुन्डिएर तर्दा भतिजको ज्यान गयो,’ ६१ वर्षीय रतनेले भने, ‘अब कसैले अकालमा ज्यान गुमाउन नपर्ने भयो ।’ उनले डेढ वर्षअघि केपी ओली नेतृत्वको सरकारले तुइन विस्थापन योजना ल्याएपछि पुल बनाउने काम सुरु भएको सुनाए । पुल बनेपछि सदरमुकाम मान्मलगायत सुर्खेत, नेपालगन्ज आउजाउका लागि सहज भएको उनको भनाइ छ ।
खुलालुमा नवनिर्मित झोलुंगे पुल उद्घाटन हुने खबर सुनेपछि सोमबार लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्साका सयौं बासिन्दा कर्णाली नदीको तिरमा झरेका थिए । सदरमुकाम मान्मबाट पनि स्थानीय विकास अधिकारीसहित सरकारी निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि खुलालु पुगे ।

स्थानीय धनसरा बिष्टले पुलले कर्णाली राजमार्गसग जोडिन पाएको सुनाउँदै अब कसैले नदी तर्दा अकालमा ज्यान गुमाउनु नपर्ने बताइन् । ‘नाउ (डुंगा) चढ्यौं, बाबियाको डोरीमा झुन्डियौं, पछि तुइन बनेपछि त्यसैमा झुन्डियौं,’ स्थानीय लबजमा बिष्टले भनिन्, ‘झोलुंगे पुल बन्दा रोड बनेजस्तो खुसी लागेको छ ।’ उनले तुइन तर्ने क्रममा यस क्षेत्रका १ सय ५० भन्दा बढीका औंला काटिएको पनि सुनाइन् ।

पुल उद्घाटन गर्न पुगेका खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले ०३२ अघि कालिकोटको कुनै पनि ठाउँमा पुल र बाटोघाटो नभएकामा अहिले विकासले गति लिएको बताए । ‘कर्णाली राजमार्ग सञ्चालनमा आएको छ,’ उनले भने, ‘स्वास्थ्य संस्था, विद्यालय र क्याम्पस खुलेका छन् त्यसैले कर्णाली फेरिंदै छ ।’ केपी ओली सरकारको पहिलो निर्णय तुइन विस्थापनलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको उनले बताए ।

सशस्त्र द्वन्द्वमा माओवादीद्वारा काटिएका झोलुंगे पुल निर्माण भए पनि ५ गाविसका करिब ३० हजार बासिन्दाको ओहोरदोहोर गर्ने कर्णाली नदीको खुलालुमा पुल बन्न सकेको थिएन । यही ठाउँमा कर्णाली करिडोरको पक्की पुल शिलान्यास भएको ५ वर्ष बिते पनि काम अझै सुरु हुन नसकेको कांग्रेस नेता हिक्मतबहादुर विष्टले गुनासो पोखे । हेलिकप्टरमा आएर तत्कालीन भौतिक योजना मन्त्री विमलेन्द्र निधिसहित ५ जना मन्त्रीले शिलान्यास गरे पनि हालसम्म ठेकेदार साइडमा नआएको जिल्ला बार अध्यक्षसमेत रहेका विष्टले सुनाए । कर्णाली नदी तर्न स्थानीयले अझै तुइनकै भर पर्नुपर्ने बाध्यता थियो । पुल बनेपछि गर्भवती महिलालाई जिल्ला अस्पताल लैजान, नुन, तेल र चामल लिन जान सहज हुने लालु ७ की नामसरा बिष्टले बताइन् ।

नदी तर्न वैकल्पिक साधनका रूपमा कालिकोटमा निर्माण भएका तुइनको संख्या ११ भएकामा आउने वैशाखसम्म सबै विस्थापित गर्ने लक्ष्य रहेको स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले बताए । उनका अनुसार साउनयता ५ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । गत वर्ष ८ वटा झोलुंगे पुल निर्माण भए । आउने वैशाखभित्र ७ वटा थप पुल सञ्चालनमा आउनेछन् ।

यहाँको लालु र कोटवाडाको सिमानामा पर्ने खुलालु तुइन नेपालमै बढी मानिसले प्रयोग गर्ने तुइनका रूपमा चर्चित थियो । ०६३ मा प्राक्टिकल एक्सनको प्राविधिक सहयोगमा सञ्चालित पहुँच कार्यक्रमबाट निर्माण गरेको खुलालु तुइनबाट दैनिक दुईदेखि ३ सय जनासम्म तर्ने गर्थे । खुलालु तुइनबाट कालिकोटका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडा र अछामको सिमाना छेउछाउका बासिन्दा तर्ने गरेको तुइन अप्रेटर खडग विश्वकर्माले बताए । उनले तुइनका ठाउँमा झोलुंगे पुल बनेकामा खुसी लागे पनि आफ्नो राजीरोटी खोसिएकामा गुनासो गरे । उनले यही तुइन तराएबापत दैनिक ५ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ गर्थे । सशस्त्र द्वन्द्वका बेला माओवादीले कर्णाली नदीका लालीघाट, रैगिंल, जारकोट, भात्तडी र तिला नदीका सेरिघाट, राराघाटका पुल काटेका थिए । ती ठाउँमा सुरुमा तुइन बनेका थिए भने हाल सबैमा पुल बनिसकेको झोलुंगे पुल निर्माणको सहजीकरण गरिरहेको हुरेन्डेकका अध्यक्ष जजराज शाहीले बताए ।

०३२ सम्म एउटै पनि झोलुंगे पुल नभएको कालिकोटमा सबै बासिन्दा नदी तर्न तागुलो (बाबियाको डोरीमा झुन्डिएर) बाट नदी पार गर्थे । ०२८ मा कर्णाली चिसापानी परियोजनामार्फत कर्णाली नदीको लालीघाट भौरेकुना, तिलाको सेरिघाट, नाग्मगाड र रारालिहीमा ४ वटा तुइन (गेज) निर्माण भएको सभासद तुलाराज विष्टले बताए । बाबियाको लठ्ठा नदीमाथि लगाएर त्यसैमा झुन्डिएर नदी तर्ने क्रममा जिल्लामा मर्नेको संख्या वार्षिक ३०–४० सम्म भए पनि तुइन निर्माणपछि घटेर १०–१५ मा झरेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७३ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा

विष्णु पोखरेल

काठमाडौं — मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् ।

भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी फ्री’ बाट पनि धेरै विदेशी मदिरा दिनहुँ नेपाल भित्रिने गरेको छ । 

विदेशी मदिराको आयात र मात्रा मात्र होइन, त्यसका लागि नेपाली रकम विदेशिने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी मदिराको आयात गतवर्ष यही अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ । ती मदिरा किन्नका लागि विदेशिने रकम भने ६२ प्रतिशतले वृद्धि भएको छ ।

बियर, वाइन, ह्वीस्की, स्याम्पेन, भोड्कालगायत मदिरा र यस्तै खाले रक्सी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात हुने क्रम बढेको छ । साउनदेखि माघसम्म भएको आयातका आधारमा हेर्दा हरेक दिन नेपालमा ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको छ । त्यसका लागि आयातकर्ता र उपभोक्ताको थाप्लोमा १ करोड ७ लाख रुपैयाँ राजस्व भार पर्छ । यस आधारमा हरेक दिन विदेशी रक्सीका लागि व्यापारीले राख्ने नाफाबाहेक नेपालीले १ करोड ८० लाख रुपैयाँ खर्च गर्छन् ।

यो औपचारिक माध्यमबाट भन्सार तथा अन्त:शुल्क तिरेर ल्याएको मदिराको मात्र विवरण हो । कर नतिरी ल्याइने रक्सीको विवरण यसमा समेटिएको छैन । ‘विदेश गएर आउनेले ड्युटी फ्रीबाट ल्याउने मदिरा पनि धेरै हुन्छ,’ नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल भन्छन्, ‘त्यसलाई पनि समेट्ने हो भने तथ्यांक बढी देखिन्छ ।’ उनका अनुसार नेपालको कुल मदिरा कारोबारमा विदेशी मदिराको बजार हिस्सा ३० प्रतिशत मात्र छ । बाँकी ७० प्रतिशत हिस्सा भने स्वदेशी उत्पादनले ओगट्दै आएको छ । व्यवसायीका अनुसार नेपालको कुल राजस्वमा मदिरा व्यवसायबाट मात्र २० प्रतिशत उठ्छ ।

जनसंख्या वृद्धि र सहरी क्षेत्रमा बढ्दो पश्चिमी सांस्कृतिक प्रभावका कारण विदेशी मदिराका पारखी बढ्दै गएका हुन् । पहिले विवाह, वार्षिक उत्सवलगायत भोजभतेरमा रक्सीको प्रचलन नरहेको भए पनि अहिले यस्तो चलन बढ्दै छ । 

नेपालमा सबैभन्दा धेरै ह्वीस्की, भोड्का र रम समूहका रक्सी आयात हुने गरेको छ । वाइन दोस्रो धेरै आयात हुने मदिरा हो । तेस्रोमा बियर पर्छ । यसबाहेक मदिरा बनाउन आवश्यक कच्चा पदार्थसमेत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । नेपालमा सबैभन्दा धेरै मदिरा भारतबाट आयात हुने गरेको छ । भारतबाहेक अमेरिका, अस्ट्रेलिया, बेलायत, क्युबा, मेक्सिको, फ्रान्स, बेल्जियम, पोल्यान्डलगायत विभिन्न मुलुकबाट मदिरा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बियर अमेरिकाबाट आयात भएको देखिन्छ भने वाइन अस्ट्रेलिया, ह्वीस्की भारत र बेलायतबाट आउँछ । मदिराको कच्चा पदार्थ धेरै आयात हुने मुलुक पनि भारत र बेलायत हुन् ।

प्रकाशित : फाल्गुन १७, २०७३ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्