१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सन्तानले आर्जेको १० प्रतिशत बाबुआमालाई’

कान्तिपुर संवाददाता

काठमाडौं — महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिकको संरक्षणमा सन्तानले आफ्नो आर्जनको कम्तीमा १० प्रतिशत रकम अनिवार्य रूपमा खर्च गर्नुपर्नेसहितका नीति लागू गर्ने कार्ययोजना अघि सारेका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्ना कार्ययोजना ज्येष्ठ नागरिकको अधिकार र महिलाको स्वास्थ्य सुधारमा केन्द्रित रहेको जानकारी गराए ।

उनले आफूलाई साना छँदा हुर्काउने र शिक्षादीक्षा दिने आमाबाबुका लागि सन्तानले आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत रकम खर्चनुपर्ने नीतिगत व्यवस्था गरिने बताए । ‘आफ्नो अभिभावकको लालनपालनमा छोरा र बुहारी जिम्मेवार हुनैपर्छ, अविवाहित छोरीको हकमा समेत यो नीति लागू हुन्छ,’ उनले भने । उनले प्रत्येक जिल्लामा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमको निर्माण गर्ने लक्ष्यअनुरूप आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशमा एक–एक वटा नमुना सशुल्क वृद्धाश्रम निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

महिलामा लाग्ने पाठेघर र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, महिलामाथि हुने जुनसुकै हिंसाको शारीरिक, मानसिक र कानुनीलगायत सबै उपचार सरकारले जिम्मा लिने उल्लेख गर्दै त्यसका लागि आफ्नो मन्त्रालयले जिम्मेवार समूह निर्माण गरेको जानकारी दिए । प्रत्येक जिल्लामा बालबालिकाका लागि खेलकुद मैदान, मनोरञ्जनका लागि २१ वटा बाल उद्यान निर्माण गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खड्काले यसै आर्थिक वर्ष १० वटा बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता जनाए । 

उनका अनुसार मन्त्रालयले हिंसा पीडित महिलाको पुन:स्थापना, अध्ययन र आर्थिक गतिविधि सञ्चालन हुन सक्ने गरी बहुउद्देश्यीय केन्द्र (महिला ग्राम), अपांगता भएका व्यक्तिको पुन:स्थापना र आर्थिक गतिविधि समेत सञ्चालन गर्न बहुउदेश्यीय अपांग ग्राम स्थापना गर्नेछ । मन्त्रालयले महिलाको उत्थानका लागि नीतिगत योजना र कार्यक्रम बनाउनका लागि सुझाव दिन चाँदनी जोशीको संयोजकत्वमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्ता लक्ष्मी श्रेष्ठलगायतको महिला विज्ञ समूह गठन गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७३ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?