दुई सय किलो गाँजासहित एम्बुलेन्स समातियो

वेदराज पौडेल

इनरुवा — मंगलबार विहान २:३० बजे हरिपुर ९ भाण्टाबारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल विओपी हरिपुरको संयुक्त गस्ती टोलीले एम्बुलेन्समा हालेर भारततिर लान लागिएको दुई सय किलो गाँजासहित एम्बुलेन्स पक्राउ गरेको छ ।

दुई सय किलो गाँजासहित एम्बुलेन्स समातियो

सप्तकोसी नदीको पानीमा हेलाउँदै पहाडी जिल्लाबाट गाँजा तराई ल्याएर जलमार्ग हुँदै भारतीय बजार पुर्‍याउने रुट प्रहरीले ध्वस्त पारेपछि अहिले एम्बुलेन्स लगायत साना सवारीमा भारतीय बजारमा नेपाली गाँजा बिक्री हुने गरेको प्रहरीले जनाएको छ । को १ च ५५०५ नम्बरको एम्बुलेन्समा सातवटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो । सुराकीको आधारमा निकैदिन देखि प्रहरी निगरानीपछि गाँजा पक्राउ परेको हो । एम्बुलेन्स चालक फरार रहेका छन् भने एम्बुलेन्समा रहेका बोलश्याम मण्डल पक्राउ परेका छन् । सप्तरी घर भएका मण्डल हरिपुरमा केही समयदेखि बस्दै आएका थिए ।

ठाकठाकु माओहाङ चेम्जोङ वंश उत्थान संघ धरानले सञ्चालन गर्दै आएको एम्बुलेन्स, गाँजा र मण्डललाई जिल्ला प्रहरी कार्यालय इनरुवा अनुसन्धानका लागि राखिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले पक्राउको पुष्टि गरे पनि एम्बुलेन्सको तस्बिर खिच्न र भित्री कुरा दिन नमिल्ने बताए ।

धनकुटा, भोजपुर, संखुवासभा लगायतका जिल्लामा उत्पादन गरिएको अवैध गाँजा सप्तकोसी नदीको पानीमा बाँस सँगसँगै बगाएर तराई झारेपछि स्थानीय व्यापारीले खरिद गर्ने र विभिन्न माध्यमबाट भारतीय बजार पुर्‍याउने गरेका छन् ।

मंगलबार बिहान सुनसरीको चतराबाट भारतको विरपुरतिर एम्बुलेन्समा राखेर लाँदै गरेको दुई सय केजी गाँजा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विओपी हरिपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा एम्बुलेन्ससहित कारबाहीका लागि पठाएको छ । तस्बिर : वेदराज पौडेल/कान्तिपुर

प्रकाशित : फाल्गुन १७, २०७३ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?