१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओबीओआर सम्मेलनमा प्रधानमन्त्री नजाने

चन्द्रशेखर अधिकारी

काठमाडौं — आगामी जेठ पहिलो साता बेइजिङमा हुने वान बेल्ट वान रोड (ओबीओआर) सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित नहुने भएका छन् । सम्मेलनमा विश्वका ४० भन्दा बढी राष्ट्र तथा सरकार प्रमुखको उपस्थिति रहने बताइएको छ ।

स्थानीय निर्वाचनको तयारी भइरहेकाले उपस्थित नहुने सूचना नेपालले चीनलाई दिएको छ । यसलाई स्वाभाविक रूपमा लिँदै चीनले निर्वाचनको सफलता र संविधान कार्यान्वयनका लागि शुभकामना दिएको छ । 

सम्मेलनमा आफू नभए पनि नेपालको उच्चस्तरको सहभागिता रहने आश्वासन प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत यू होङलाई मंगलबार दिएका छन् । राजदूत यूसँगको भेटमा दुईपक्षीय हित र स्थानीय निर्वाचनको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

भेटमा दाहालले चीनले अघि बढाएको ओबीओआरमा नेपाल सहभागी हुने प्रतिबद्धता जनाएका छन् । चीनद्वारा प्रस्तावित ओबीओआर अवधारणामा नेपाल सहभागी हुने सम्बन्धमा छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुने समेत उनले बताए ।   एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुकबीच जमिन, हवाई, समुद्री मार्गबाट आपसमा जोडदै रेल, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युतीय प्रसारण लाइन निर्माण र आर्थिक विकासको खाका लगायतका महत्त्वाकांक्षी अवधारणाअन्तरगत ओबीओआर रहेको छ । ओबीओआर अवधारणामार्फत नेपाल र एसिया क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको राजदूत यूले बताएकी थिइन् । 

यसैबीच, प्रधानमन्त्री दाहालसँग  भारतीय राजदूत रणजीत रायले बिदाइ भेट गरेका छन् । रायले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि बिदाइ भेट गरेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७३ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?