स्ववियुमा मिश्रित परिणाम

नेविसंघ-१०५, अनेरास्ववियु १०१, क्रान्तिकारी ७३ वटा क्याम्पसमा विजयी
संख्या बढाएर जितको दाबी गरेको विद्यार्थी संगठनहरुबीच नै आरोप-प्रत्यारोप
कान्तिपुर संवाददाता

काठमाडौं — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा तीन प्रमुख विद्यार्थी संगठनले मिश्रित परिणाम प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका २१ आंगिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल संस्कृत विश्वविद्यालयका केही आंगिक क्याम्पस गरी करिब २ सय ३० क्याम्पसमा बुधबार स्ववियु चुनाव सम्पन्न भएको थियो ।

स्ववियुमा मिश्रित परिणाम

विद्यार्थी संगठनहरूको दाबी अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १ सय ५ क्याम्पसमा स्ववियु सभापतिलगायत पदमा विजय पाएको छ । त्यसैगरी अनेरास्ववियुले १ सय १ स्थानमा सभापतिलगायत पदमा जित हासिल गरेको जनाएको छ । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले ७३ वटा क्याम्पसमा सभापतिलगायत स्थान विजय पाएको दाबी गरेको छ । स्ववियु चुनाव सम्पन्न क्याम्पस संख्याअनुसार विद्यार्थी संगठनको दाबी मिलेको छैन । संगठनहरूले एक–अर्कालाई संख्या बढाएर दाबी गरेको आरोप पनि लगाएका छन् ।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले क्याम्पस प्रशासनले स्ववियु चुनाव सम्पन्न गराएकाले नतिजा आउन ढिलो हुने बताइन् । ‘एकाध क्याम्पसमा प्राविधिक कारणले स्ववियु चुनाव भोलि (शुक्रबार) मात्र हुन्छ । त्यसैले सबैतिरको नतिजा आउन समय लाग्छ,’ उनले भनिन् ।

यसअघि २०६५ सालमा स्ववियु चुनाव भएको हो । त्रिविले यस वर्ष मिश्रित प्रणाली र समावेशी नीतिअनुसार चुनाव गराएको हो । देशभरिका ६० आंगिकमध्ये २१ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भएको जनाइएको छ । विद्यार्थी संगठनले आफ्नो पकड गुमाउन सक्ने क्याम्पसमा अवरोध पुर्‍याएर चुनावी प्रक्रिया रोकेका थिए ।

राजधानीका शंकरदेव, आरआर, पिपल्स क्याम्पस र अन्य केही क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा फागुन २३ गतेभित्र चुनाव गराउनुपर्ने नेविसंघका महामन्त्री सरोज थापाले बताए । ‘हामी विद्यार्थी संगठन सहमति गर्न तयार छौं, त्रिविले हाम्रो माग सुन्न जरुरी छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १९, २०७३ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?