१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दिनभर प्रदर्शन

सप्तरी घटना
पूर्वाञ्चल ब्युरो

विराटनगर — सप्तरीको राजविराजमा सोमबार भएको हिंसात्मक घटनाको विरोधमा पूर्वी तराईका विभिन्न जिल्लामा मंगलबार प्रदर्शन गरियो । मधेसी मोर्चाका नेता कार्यकर्ताले सप्तरी, मोरङ, सिरहा, महोत्तरी, धनुषालगायत जिल्लामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन र बन्दका कारण यातायात, शैक्षिक संस्था र व्यापारिक केन्द्र प्रभावित भए । प्रदर्शनकारीले एमाले कार्यालयमा आगजनी गर्नुका साथै विभिन्न ठाउँमा गाडी तोडफोड गरे । केही सरकारी कार्यालयमा पनि आगजनी गरेका छन् । 

प्रहरीेले दमन गरेको भन्दै विराटनगरमा मोर्चाका कार्यकर्ताले प्रदर्शन गरे । यहाँका शिक्षण संस्था, यातायात सेवा ठप्प रहे । रंगेलीलगायत मोरङका व्यापारिक केन्द्र बन्द रहे । घटनापछि इटहरीलगायत क्षेत्रमा सोमबार राति रोकिएका लामो दूरीका साधनलाई प्रहरीले सुरक्षा दिई मध्यरातितिर गन्तव्य पठाएको थियो ।
मोर्चाका कार्यकर्ताले राजविराजलगायत विभिन्न स्थानमा प्रदर्शन गरे । शैक्षिक संस्था ठप्प रहे । कारखाना, यातायात पनि सञ्चालन भएनन् । बजार र सरकारी कार्यालय बन्द रहे ।
प्रदर्शनकारीले राजविराजस्थित स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरे । सरकारी कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरे । राजविराज ६ स्थित भाडाको घरमा सञ्चालनमा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका थिए । कागजपत्र र फर्निचर जलेर नष्ट भएको छ । जिल्ला वन कार्यालयमा पनि आगजनी प्रयास गरेका थिए ।
राजविराज नगरपालिका कार्यालय र टेलिकम कार्यालय र राष्ट्रिय वाणिज्य बैंकमा ढुंगामुढा गरे । उनीहरूले बैंकमा रहेको एउटा गाडीमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । कोसी ब्यारेज पश्चिमको सशस्त्र प्रहरीको चेक प्वाइन्ट र ट्राफिक चेकपोस्ट कदमाहामा आगजनी गरे । प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको जनकपुर कार्यालयको गाडी तोडफोड गरे । जिल्ला प्रशासन कार्यालय अगाडि आयोगका पाँच कर्मचारी सवार स्कारपियो गाडीमा ढुंगामुढा प्रहार भएको थियो । आयोगको बा७च ७४७३ नम्बरको गाडीका सिसा फुटेका छन् । गाडीमा बसेकै बेला आक्रमण भएपछि आयोगका कर्मचारीहरू ज्यान जोगाएर नजिकैको जिल्ला अदालत परिसरमा शरण लिएर बसेका थिए । 
आयोगका अधिकृतहरू रेवा रेग्मी, चिरञ्जीवी कोइराला, पवन भण्डारी, नवलकिशोर सिंह र चालक श्रीराम कार्की गाडी अदालतमा केहीबेर बसेपछि गएका थिए । आक्रमणपछि मोर्चाका जिल्ला तहका नेताहरूले उक्त गाडी प्रमुख जिल्ला अधिकारीको निवासमा पठाइदिएका थिए । प्रदर्शनकारी र र प्रहरीबीच राजविराजको अदालत रोड र गजेन्द्रचोकमा पटक–पटक झडप भयो । त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।  मधेसी मोर्चा सप्तरीको मंगलबार राजविराजमा भएको बैठकले प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक जनालाई सरकारी जागिर दिनुपर्ने माग गरेको छ । घाइतेको उपचार खर्च राज्यले बेर्होनुपर्ने, घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने, सप्तरीका प्रजिअ, एसपी र डीएसपी तथा सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्नुपर्ने पनि मोर्चाको माग छ ।
सप्तरी जिल्ला बार इकाई र उच्च अदालत जनकपुरको राजविराज इजलास बार पनि आन्दोलनमा उत्रेको छ । सोमबारको घटनामा जिल्ला बारका कोषाध्यक्ष दिगम्बर यादवसमेत प्रहरीको गोली लागी घाइते छन् । उनको धरानमा उपचार भइरहेको छ । घटनाबारे छानबिन गर्न उच्च अदालत राजविराज इजलास बार इकाई अध्यक्ष विजयकुमार यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन टोली गठन गरिएको छ । 

१३ घाइते घर फर्किए
झडपमा घाइते भएकामध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत १३ जना मंगलबार घर फर्किएका छन् । १८ घाइतेमध्ये उपचारपछि १३ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानस्थित प्रहरी पोस्टले जनाएको छ । प्रहरीका अनुसार ५ जनालाई थप उपचारका लागि भर्ना गरिएको छ । सप्तरी मध्येपुरा १ का इन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई सघन उपचार कक्षमा राखिएको छ । घाइतेहरू राजविराजका दिलीप यादव, दिगम्बर यादव, जित शाह र वीरेन्द्रकुमार महतोको पनि उपचार भइरहेको छ ।

जनकपुरमा दिनभर प्रदर्शन 
सप्तरी घटनाको विरोधमा जनकपुरमा मोर्चा नेता कार्यकर्ताले दिनभर प्रदर्शन गरे । बन्दका कारण यातायात, बजार, शिक्षण संस्था ठप्प रहे । बन्दकर्ताले र्‍याली निकालेका थिए । उनीहरूले ‘लाठी जुलुस’ पनि प्रदर्शन गरे । प्रदर्शनकारीले केही सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रदर्शनपछि जनकचोकमा आयोजित सभाका वक्ताले गृहमन्त्रीको राजीनामा, घटनाको उच्चस्तरीय छानबिन, मृतक परिवारहरूलाई सहिद घोषणा तथा क्षतिपूर्तिसँगै सप्तरीका सुरक्षा प्रमुखहरूमाथि कारबाही माग गरे ।
तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले निहत्था प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको बताए । ‘आन्दोलनकारीको टाउको र छाती ताकी गोली प्रहार गर्नु मानव अधिकारको चरम हनन हो,’ उनले भने । राष्ट्रिय मानव अधिकार आयोगको भूमिका शंकास्पद देखिएको भन्दै स्थानीय युवकहरूले देवीचोकस्थित राष्ट्रिय आयोगको क्षेत्रीय कार्यालयअगाडि प्रदर्शन गरे थिए । मोर्चाले आहवान गरेको बन्दका कारण महोत्तरीको जनजीवन प्रभावित भयो । मोर्चा कार्यकर्ताले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरे । यातायात चलेनन् । मालपोत, वाणिज्य बैंकलगायत कार्यालयहरू बन्द रहे । सदरमुकाम जलेश्वर, गौशाला बजार, पिपरा, मटिहानीलगायत बजार सुनसान बने । धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको नेपाल तराई विद्यार्थी नवजागरण संघले पनि घटनाको विरोधमा प्रदर्शन गरेको थियो । 

एमाले कार्यालय आगजनी
मोर्चा कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरे । एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयबाट बिहान ११ बजेतिर मोर्चाका कार्यकर्ताले कागजपत्र, फर्निचरलगायत सामान सडकमा निकालेर आगजनी गरेका हुन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मोर्चा कार्यकर्ताले सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायत जिल्लाका विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरे । लहानस्थित मालपोत कार्यालय र सिरहा सदरमुकाम सिरहा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा ढुंगामुढा गरी झ्यालका सिसा फुटाए । 
विरोध प्रदर्शनको नेतृत्व गरेका मोर्चाका १३ नेता–कार्यकर्तालाई प्रहरीले मंगलबार लहानबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा नेपाल सदभावना पार्टीका सहमहासचिव राजु गुप्ता, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादव, पहिलो मधेस आन्दोलनका कमान्डर कृष्णबहादुर यादव, प्रयागलाल यादव, वैधनाथ साह, रोशनकुमार यादव, दीपेश यादव, दिलीप यादव, गुलाव राइनलगायत १३ जना छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । 
मोर्चा कार्यकर्ताले लहानमा विरोध र्‍यालीसहित एमाले अध्यक्ष केपी ओलीको पुतला दहन गरे । उनीहरूले पक्राउ परेका कार्यकर्ताको रिहाइको माग राख्दै इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी समेत गरे । स्थानीय पशुपति आदर्श माविको प्रांगणबाट निस्किएको विरोध र्‍याली बजारका विभिन्न भाग परिक्रमा गरी सहिद रमेश महतो चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरूले सप्तरी घटनाको जिम्मेवारी एमालेले लिनुपर्ने बताए । उनीहरूले शान्तिपूर्ण विरोध गरिरहेका निहत्था मधेसीको निमर्मतापूर्वक हत्या भएको भन्दै स्वतन्त्र न्यायिक छानबिनको माग गरे । सद्भावना पार्टीका केन्द्रीय सदस्य रामबहादुर महतो, नेकपा क्रान्तिकारी माओवादीका सुरेन्द्र साह, तराई मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य उदयनारायण यादव लगायतको नेतृत्वमा विरोध र्‍याली निस्किएको थियो । मोर्चाले आहवान गरेको बन्दका कारण मंगलबार सिरहाको जनजीवन प्रभावित भयो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, सदरमुकाम सिरहा बजारमा यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द रहे । 
यसैबीच सिरहाका एक दर्जन अधिकारवादी संघसंस्थाहरूले मंगलबार विज्ञप्ति जारी गरी राजनीतिक आन्दोलनमा प्रहरीले मोर्चाका कार्यकर्तामाथि गरेको दमनले व्यक्तिको बाँच्न पाउने अधिकार हनन गरेको भन्दै घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन् । मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), समग्र विकास सेवा केन्द्र, दलित जनकल्याण युवा क्लब, मानव अधिकार सञ्चार प्रतिष्ठान, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, महिला मानवअधिकार रक्षक सञ्जाल, सहयोगी हातहरू, नेपाल मानव अधिकार संगठनले विज्ञप्ति जारी गरी सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका हुन् । 

विद्यार्थी संगठनद्वारा विरोध
काठमाडौं (कास)– नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल तराई विद्यार्थी नवजागरण संघले सप्तरी घटनाको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । मंगलबार युनियन र संघले गरको विरोध प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको थियो । ‘पहिले संशोधन अनि निर्वाचन’, ‘प्रहरी मेरो साथी तर गोली किन कम्मरभन्दा माथि’ जस्ता वाक्य लिखित प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरिएको थियो । प्रदर्शनमा थापाथली, पुल्चोक, सगरमाथा इन्जिनियरिङ कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लगायतका विद्यार्थीको सहभागिता रहेको संघले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७३ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?