कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बती युवतीलाई मुद्दा

कान्तिपुर संवाददाता

दोलखा — जिरी गाविसबाट नागरिकता लिएको देखाएर स्वीट्जरल्याण्डको नागरिकसँग विवाह गरेकी तिब्बती युवतीलाई नक्कली कागज बनाएको आरोपमा पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।


उनको नाममा जारी नागरिकता र राहदानी नै नक्कली परेपछि स्वीट्जरल्यान्डबाट फर्कनेबित्तिकै उनी पक्राउ परेकी हुन् । २६ वर्षीया तिब्बती  युवती याङदोङलाई अध्यागमन विभागले दुईसाताअघि काठमाडौंमा पक्राउ गरेको थियो । अनुसन्धानका अध्यागमन विभागले झण्डै दुईसाता गैरकानुनी थुनामा राखेर रातारात दोलखा प्रहरीमा बुझाएको हो । अध्यागमन विभागले त्यसरी थुनामा राख्नु गैरकानुनी मानिन्छ ।

काठमाडौं जिल्ला अदालतले १७ उनीलाई जाली राहदानीअन्तर्गत सजाय र जरिवाना गरेको थियो । त्यसपछि अध्यागमनले ती युवतीलाई किर्ते नागरिकताअन्तर्गत अनुसन्धान गर्न प्रहरीलाई बुझाउनुपर्नेमा हिरासतमा नै राखेर रातारात दोलखा प्रहरीलाई बुझाएको खुलेको छ । स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी उनलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा राखेको हो ।

नागरिकतामा याङदोङ शेर्पा नाम भएकी तिब्बती युवतीले दोलखा जिल्ला प्रशासनबाट नागरिकता र त्यसको आधारमा राहदानी विभागबाट राहदानी लिन दलालको साहरा लिएको अनुमान छ । दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीले उनीसँग बयान लिन बाँकी रहेको बताए । उनको नागरिकता र पासपोर्ट सक्कली रहेको कुनै पनि प्रमाण देखिएको छैन ।
अनुसन्धानका क्रममा दोलखाको तत्कालीन जिरी गाविसबाट (हालको नगरपालिका) २०६४ सालमा नागरिकता लिएको खुलेको छ । तर, सो नागरिकता राजधानीमा कुनै गिरोहले बनाइदिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिरी गाविसको अभिलेखमा समेत उनको नाममा नागरिकतासम्बन्धी सिफारिस भएको प्रमाण खुलेको छैन ।

यसअघि नेपाल मानवअधिकार संगठनले याङदोङलाई गैरकानुनी थुनामा राखेको भन्दै काठमाडौं जिल्ला अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएपछि घटना बाहिर आएको थियो । काठमाडौं जिल्ला अदालतले मंगलबार तिब्बती युवती याङदोङलाई थुनाबाट किन छाड्न नहुने भन्दै लिखित कारणसाथ बन्दीसहित २६ फागुनमा अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश थाहा पाउनासाथ अध्यागमनले युवतीलाई प्रहरीलाई बुझाएको हो । उनलाई दोलखा प्रहरीले बिहीबार जिल्ला अदालत दोलखामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी नायव कार्कीले जानकारी दिए ।
 
याङदोङ यसरी पक्राउ परिन
२०६४ सालमा तत्कालीन जिरी गाविसको नामबाट नक्कली नागरिकता बनाएकी उनी स्वीस नागरिकको प्रेममा थिइन् । प्रेमलाई बिहेमा परिणत गर्न उनले नागरिकता र राहदानी बनाउन दाललको साहरा लिइन् । नक्कली कागजातको आधारमा उनी सेटिङकै आधारमा स्वीस नागरिकसँग स्वीट्जरल्यान्ड पुगेकी हुन् ।

दुई वर्ष स्वीट्जरल्यान्डमा बसेकी उनी प्रेमीसँग विवाद भएपछि त्यहाँको सरकारले नेपाल पठाएको हुनसक्ने स्रोतको दाबी छ । नेपाली नबुझ्ने याङदोङलाई नक्कली राहदानीकै कारण उनलाई नेपाल पठाएको स्रोतले बताएको छ । अनुसन्धानको क्रममा उनले नागरिकतामा शेर्पा जाति राखेकी छन् । तर, शेर्पा भाषा बोल्नसमेत नसकेपछि उनी कानुनको दायरामा आएकी हुन् ।

प्रकाशित : फाल्गुन २६, २०७३ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?