कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सात महिनादेखि बिनातलब काम

यूएईमा नेपाली सुरक्षा गार्ड
होम कार्की

काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपतिका सल्लाहकार डा. शेख सुल्तान बिन खलिफा बिन जायद अल–नायनको रोयल फाल्कन सेक्युरिटी, एलएलसी कम्पनीले झन्डै ३ सय नेपाली सुरक्षाकर्मीलाई ३ देखि ७ महिनासम्मको तलब दिएको छैन ।

यूएईको अर्धसरकारी कम्पनीको रोयल फाल्कनले बिनातलब काममा लगाइरहेको पीडित नेपाली सुरक्षागार्डले बताएका छन् । उनीहरूले तलब दिलाई स्वदेश पठाइदिन माग गर्दै नेपाली दूतावासलाई अनुरोध गरेका छन् । सबभन्दा बढी पीडित हुनेमा पछिल्लो लटमा पुगेका नेपाली कामदार छन् । त्यहाँ दुई वर्षदेखि कार्यरत नेपालीसमेत छन् । ‘पुरानाले तीन महिना र नयाँले ७ महिनादेखि तलब पाएका छैनन्,’ पीडित पदमसिंह भण्डारीले भने, ‘सबै साथी दूतावासमा जान डराएका छन् । नयाँ आएका मध्ये २४ जनाले भने दूतावासमा गएर उजुरी हालेका छन् ।’

२०१२ मे ७ देखि कम्पनी खोलेर फाल्कनले नेपालीलगायत विदेशीलाई विभिन्न होटल, मल र सीमा छेउका कम्पनीलाई सुरक्षा गार्ड आपूर्ति गर्दै आएको थियो । ‘अर्धसरकारी र शेखको कम्पनी भनेर यूएई आयौं । म्यानपावरलाई ३ लाख ८० हजारदेखि ४ लाख २५ हजार रुपैयाँ बुझायौं,’ गोरखाका सरोज अर्यालले भने, ‘यूएई पुगेको ९ महिनासम्म पनि काम नपाएपछि फर्कनुपर्‍यो ।’ त्यस कम्पनीमा डीडी म्यानपावर र सेभेन सिज म्यानपावर कम्पनीले नेपाली कामदार पठाएका हुन् । 

कम्पनीले कामदारलाई २ हजार दिराम मासिक तलब दिने गरी कामदार लगेको थियो । ‘नयाँ लटका कामदार जूनमा आएका हौं । गत डिसेम्बरादेखि मात्रै काम पायौं । तलब दिएकै छैन,’ भण्डारीले भने, ‘कम्पनीले गत जून ९ देखि तलब दिने सम्झौता गरेको थियो ।’ पीडितहरू यूएई पुगेको ५ महिना बित्दा पनि काम र तलब नदिएपछि दूतावास पुगेका हुन् । ६ जनालाई तलब माग्दा गोरखाका सरोज अर्याल, काठमाडौंका समीरकुमार कार्की, दार्चुलाका पदमसिंह भण्डारी, डडेलधुराका सागर सार्की, भक्तपुरका नवीन खड्का, काठमाडौंका रुपेन्द्र थापा नेपाल फर्काइए । 

आर्थिक समस्याले दैनिक जीवनयापनमा समेत कठिनाइ परेको पीडित सुरक्षागार्डले बताएका छन् । ‘पैसा नभएर गुणस्तरहीन खाना खाइरहेका छौं । पैसाभन्दा रोग कमाइरहेका छौं,’ उनीहरूले भने, ‘शेखको कम्पनी भनेर हामीलाई डर देखाइन्छ । हामीमध्ये कति जना साथी डरले बोल्न सकिरहेका छैनन् । कति जना तातोपानी र खबुस खाएर काम गरिराखेका छन् । बिरामी पर्दा उपचार गर्न साथीभाइसँग ऋण खोज्नुपर्छ ।’ पीडित कामदारले दूतावासमा उजुरी दिएदेखि नै समस्या समाधान गर्न प्रयास जारी राखेको नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई जानकारी दिएको छ । पीडित कामदारका आफन्तले यूएईमा बिचल्ली परेकालाई उद्धार गर्न उजुरी हालेका छन् । ‘काम दिने कम्पनीको लापरबाहीले नेपाली समस्यामा परेका हुन्,’ कामदार पठाउनेमध्ये एक डीडी म्यानपावरका सञ्चालक देवेन्द्र बजगाईंले कान्तिपुरलाई भने, ‘उहाँहरूको उद्धारका लागि पहल भइरहेको छ ।

दूतावास र कम्पनीसँग कुरा भइरहेको छ । कम्पनीले एकपछि अर्को भाका सार्दै गइरहेको छ ।’ तलब नपाएका पीडितलाई कम्पनीले मार्च १५ भित्र तलब भुक्तानी गर्ने आश्वासन दिएको छ ।

बेलायतमा नेपाली युवकको हत्या
लन्डन (कास)– बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । 
नेपालीको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले आफ्नो घर आएका २५ वर्षीय युवकलाई छुरा हानी हत्या गरेको आरोप छ । चितवन नारायणगढ घर भएकी ती महिला हत्यापछि फरार भएकी छन् ।

प्रहरीले घटनास्थल वरपर प्रवेश निषेध गरेकाले विस्तृत विवरण आइसकेको छैन । सुकमाया दुई छोरा र दुई छोरीकी आमा हुन् । उनको स्वास्थ्य स्थितिसमेत सामान्य रहेको उनलाई चिन्नेहरू बताउँछन् । ती महिलाले हत्या गरेपछि एउटा नोट लेख्दै आफूलाई बलात्कार गर्न खोजेपछि छुरा प्रहार गरेको जनाएको स्थानीय महिला समाजसेवी एवं एनआरएनए यूके आईसीसी सदस्य सुष्मा राईले बताइन् । 

सप्ताहन्त सुरु हुने साँझ अबेरसम्म चहलपहल हुने अल्डरसट क्षेत्रलाई हत्याको घटनाले स्तब्ध बनाएको छ । 

प्रकाशित : फाल्गुन २९, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?