३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सकियो मदनोत्सव

लीला श्रेष्ठ

भक्तपुर — फागुन शुक्ल अष्टमीदेखि सुरु भएको होली अर्थात् मदनोत्सव (प्रेमको प्रतीक) सकिएको छ । भक्तपुरको तचपालस्थित भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव आइतबार साँझ समापन गरेको पुजारी केशरी कपालीले बताइन् ।

सकियो मदनोत्सव

भीमसेन मन्दिरमा झुन्डयाएको लिंगो फागु पूर्णिमाको साँझ बोकेर इनाचो, बाचुटोल, जेंला, जगाती, च्याम्हासिंह हुँदै ब्रहमायणी मन्दिरमा लगेर पुन: सोही बाटो लयाएर थन्क्याएसँगै पर्व सम्पन्न भएको कपालीले बताइन् । उनका अनुसार भीमसेनको लिंग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका कारण बोक्न चाहनेको प्रतिस्पर्धै चल्छ ।

करिब हजार वर्ष पहिलेदेखि भीमसेनको लिंगो (काठबाट बनेको) र द्रौपदीको योनिको प्रतीक रातो कपडालाई जुधाएर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सातादिन होली मनाइने परम्परा रहेको संस्कृति एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

भीमसेन गुठीका गायजुहरूले मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खंगलो वानला ल्यासे, बिस्युवाने म्वायक सो झायला’ (भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर मनाउने परम्परा छ । संगीतमा रमाउँदै प्रेमपर्व अर्थात वसन्तको आगमनको सूचकका रूपमा सातादिन भीमसेनको लिंग र द्रौपदीको योनि पूजा गरी होली मनाउने परम्परा रहेको श्रेष्ठले बताए ।

काठबाट निर्मित भीमसेनको लिंग फागुन शुक्ल अष्टमीको दिन (गत आइतबार) दुईजनाले बोकेर दत्तात्रय मन्दिर पुर्‍याएर साँझ भीमसेन मन्दिरकै पाटीमा झुन्डयाइएको थियो । नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुन्छ । लिंगलाई पूजा गर्ने, दान दक्षिणा दिने परम्परा छ । भीमसेनको लिंग पूजा गरे सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास छ ।

लिंग झुन्डयाएपछि नेवार समुदाय भीमसेन मन्दिरमा गुठी भोज गर्ने चलन छ । साथै आइतबार बिहानैदेखि साँझसम्म आपसमा रङ लगाई र पानी छयापेर हर्सोल्लासका साथ होली मनाइएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७३ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?