कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाहाल चीन जाने तयारी

बेइजिङमा चीनका राष्ट्रपतिसँग भेटवार्ता हुने
चन्द्रशेखर अधिकारी

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको आठ महिनापछि आएर चैत १० मा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । नौ वर्षअघि पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रूपमा चीन जान लागेका हुन् । यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट यूएई गएका छन् ।

दाहाल चीन जाने तयारी

तर उनको यो चीन भ्रमण दुईपक्षीय वा औपचारिक भने होइन । एक गैरसरकारी संस्थाले गर्ने कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । चैत १० देखि १३ सम्म हाइनान प्रान्तमा हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेका हुन् ।

सम्मेलनबाट बेइजिङ पुग्ने र राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने अवसर मिल्ने भएपछि उनी चीन जान लागेको परराष्ट्र मन्त्रालयका अधिकारीको भनाइ छ । मन्त्रालयले भ्रमण तयारी अघि बढाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने अवसर नमिल्ने भएमा दाहालले भ्रमण रद्द गर्न सक्ने पनि ती अधिकारीले बताए ।

भारतको गोवामा ब्रिक्स सम्मेलनका बेला दाहालले चिनियाँ राष्ट्रपति सीसँग भेट गरे पनि उनले चीन भ्रमण नगरेको र चीनलाई कम महत्त्व दिएको भन्दै आलोचना खेप्दै आएका छन् । गोवा सम्मेलनकै क्रममा राष्ट्रपति चिनफिङ नेपालसमेत आउने चर्चा अघिल्लो सरकारकै पालामा भए पनि अचानक भ्रमण गर्ने मुलुकको सूचीबाट नेपाल हटेपछि चीनले नेपाललाई हेर्ने दृष्टिकोण फेरेको विश्लेषण भएका थिए ।

काठमाडौंस्थित चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई भ्रमण मितिबारे जानकारी दिए पनि बेइजिङको तिथि अझै अन्योलमा रहेको अधिकारीहरूले बताए । राष्ट्रपति सी बोआओ फोरममा सहभागी हुने भएकाले उनीसँग दाहालले त्यही साइडलाइन वार्ता र समझदारी गर्न सक्ने चीनको प्रस्ताव छ । तर प्रधानमन्त्री दाहालले छोटो भए पनि आफू बेइजिङ पनि पुग्नपर्ने भन्दै त्योअनुरूप समय मिलाउन भनेका छन् ।

एमाओवादीका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल भइरहेको बताए । ‘बोआओ फोरम हाम्रा लागि आवश्यक हो, तर वर्तमान अवस्थामा प्रधानमन्त्री त्यही फोरमका लागि मात्र जान उचित हुँदैन,’ उनले भने, ‘बेइजिङ यात्रा तय हुँदै वोआओ साइडलाइन भ्रमणको रूपमा रहँदा त्यसतर्फ जाँदा राम्रो हुने सुझाएको छु । सायद बेइजिङ जाने गरी नै भ्रमणको तयारी होला ।’

स्रोतका अनुसार बोआओ उद्घाटन समारोहलाई सम्बोधन गरेकै भोलिपल्ट बेइजिङ जाने गरी मिलाउन चिनियाँ पक्षलाई आग्रह गरिएको छ । दाहाल निकट स्रोतले भने उनको चीन यात्रालाई औपचारिक बनाउने गरि प्रक्रिया अघि बढेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भ्रमणको तयारीका लागि अर्थ, वाणिज्य, ऊर्जा, भौतिक योजना, आपूर्ति मन्त्रालयहरूबीच संयुक्त बैठक बसी दुईपक्षीय सहमतिका एजेन्डा तय गर्न समेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीस्तरमा हुने औपचारिक छलफलका लागि तय गर्नपर्ने एजेन्डाबारे दुई देशका परराष्ट्र र अर्थ सचिवस्तरीय बैठक भने अझै नभएको र परराष्ट्रमन्त्रीस्तरमा समेत दुईपक्षीय भ्रमण नभएकाले दुइपक्षीय भ्रमणको आधार भने अझै मजबुद देखिएको छैन ।

संविधान जारी भएपछि भारतीय नाकाबन्दीको मारमा परेको नेपाललाई सांकेतिक सहयोगका रूपमा इन्धन उपलब्ध गराएर मनोवैज्ञानिक दबाब दिएको चीनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमण गराएको थियो ।

गत वर्ष चैत ७ मा बेइजिङ पुगेका ओली पनि बोआओ सम्मेलनमा सहभागी भएर नेपाल फर्केका थिए । उक्त भ्रमणका क्रममा नेपाल र चीनबीच व्यावसायिक इन्धन सम्झौता, द्विपक्षिय लगानी तथा सुरक्षण सम्झौता, पारवहन सन्धि र स्वतन्त्र व्यापार सम्झौता लगायत द्विपक्षीय मुद्दाहरू टुंग्याएका थिए । तर ती सम्झौताको प्रोटोकल तय गर्नेदेखि कुनै पनि काम अघि बढेको छैन । यसका लागि हुनुपर्ने बैठक अझै अलमलमै छ ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य अघि बढेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मन्त्रिपरिषद्मा छलफल हुन बाँकी छ । निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्रीले परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग ब्रिफिङ समेत लिइसक्नुभएको छ ।’

यो वर्ष बोआओ फोरमको नारा ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार : एसियाली अवधारणा’ रहेको छ । यसको उद्देश्य एसिया र विश्वबाट द्वन्द्व र विवादलाई किनारा लगाएर शान्ति र समृद्धिको साथै विश्वव्यपापीकरण र व्यापारको माध्यमबाट समावेशी विकासलाई प्रोत्साहन गर्नु हो । चार दिनसम्म चल्ने सम्मेलनमा क्षेत्रीय सहयोग, राजनीतिक सुरक्षा तथा सामाजिक कल्याण, न्याय र धर्म, नयाँ कृषि र प्रविधि लगायत विभिन्न चार दर्जन विषयमा ४४ भन्दा बढी सेसन चल्नेछ । एसियाका २० मन्त्री तथा विशेषज्ञ, व्यापारीसहित २ सय जनाले धारणा राख्नेछन् ।

एसियाको क्षेत्रीय अर्थतन्त्रबीच एकता तथा विकास लक्ष्यमा एसियाली देशलाई सहयोग पुर्‍याउने उद्देश्यले २००१ मा स्थापना गरिएको बोआओ अन्तर्राष्ट्रिय मञ्चको स्थापना समारोहमा राष्ट्रप्रमुखको हैसियतमा तत्कालीन राजा वीरेन्द्र २००१ मा, अर्का राजा ज्ञानेन्द्र २००५ मा र राष्ट्रपति रामवरण यादव २०१५ मा सहभागी भएका थिए ।

चिनियाँ रक्षामन्त्री आउँदै
चीनका रक्षामन्त्री च्याङ वानक्यान चैत १० मा आउने रक्षा मन्त्रालयले जनाएको छ । उनी चैत १२ मा नेपालबाट बंगलादेशतर्फ लाग्नेछन् । उनले नेपालमा दुई मुलुकबीचको सुरक्षा कूटनीति र नेपाल–चीन पहिलोपटक हुन लागेको संयुक्त सैन्य अभ्यास बारे छलफल गर्नेछन् । उनले नेपालमा राजनीतिक भेटघाटसहित नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग समेत भेटवार्ता गर्नेछन् ।

प्रकाशित : फाल्गुन ३०, २०७३ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?