कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

१ करोड ८ लाखलाई हात्तीपाइलेको औषधि खुवाइने

अतुल मिश्र

काठमाडौं — सरकारले चैत पहिलो सातादेखि दुई चरणमा तीस जिल्लाका १ करोड ८ लाख व्यक्तिलाई हात्तीपाइले रोगको औषधि खुवाउने भएको छ । पहिलो चरणअन्तर्गत चैत ५ देखि २५ जिल्लामा तीन दिन हात्तीपाइलेको औषधि खुवाइने छ ।

१ करोड ८ लाखलाई हात्तीपाइलेको औषधि खुवाइने

सरकारले चैत पहिलो सातादेखि दुई चरणमा तीस जिल्लाका १ करोड ८ लाख व्यक्तिलाई हात्तीपाइले रोगको औषधि खुवाउने भएको छ ।

पहिलो चरणअन्तर्गत चैत ५ देखि २५ जिल्लामा तीन दिन हात्तीपाइलेको औषधि खुवाइने छ । भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला जिल्लामा पहिलो चरणमा औषधि खुवाइनेछ । दोस्रो चरणमा चैत १७ गतेदेखि तीन दिनसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा हात्तीपाइलेको औषधि खुवाइने छ । दुई चरणका यी कार्यक्रममा करिब ४० करोड खर्च हुने बताइएको छ ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६१ जिल्लामा परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग देखिएको छ भने करिब दुई करोड ५० लाख व्यक्ति यो रोगको जोखिममा छन् । सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोगलाई जनस्वास्थ्य समस्याबाट हटाउने लक्ष्य राखेको छ । यसअन्तर्गत डाइथाइलकार्बामाजिन र एल्वेन्डाजोल औषधि कम्तीमा ६ वर्षसम्म बर्सेनि खुवाउने अभियान चलाइएको छ । यी औषधिले मानिसको शरीरमा भएको हात्तीपाइलेको परजीवी र जुकालाई मार्छन् । हालसम्म यो औषधिको करिब १० करोड मात्रा खुवाइसकिएको छ ।

जोसुकैलाई हुुन सक्ने हात्तीपाइले रोगबाट बच्न वर्षमा एकपटक गरी करिब ६ वर्षसम्म सरकारद्वारा वितरित नि:शुल्क चक्की खानुपर्ने इपिडिमियोलजीका निर्देशक डा. भीम आचार्य बताउँछन् । यसअन्तर्गत जुुकानाशक एल्वेडाजोल एउटा र उमेरअनुसार डाइथाइलकार्बामाजिन चक्की एकदेखि तीनवटासम्म वर्षमा एक पटक खानुुपर्छ । यो चक्कीले हात्तीपाइलेसँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुुन्छ ।

यसको सेवनले खासै असर गर्दैन । शरीरमा धेरै परजीवी भए टाउको दुुख्ने, वाकवाकी लाग्ने अथवा पेट दुख्ने सामान्य समस्या देखिन सक्ने डा.आचार्य बताउँछन् । यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घरोगी, सिकिस्त बिरामी र दुुई वर्ष नपुुगेका बच्चाहरूले भने खानु हुँदैन ।

हात्तीपाइले रोगको दीर्घकालीन लक्षणअन्तर्गत हातखुट्टा सुन्निनु, पुरुषको अण्डकोष ठूलो हुनु, महिलाको यौनांग अथवा स्तन सुन्निनु, पिसाब रातो वा सेतो आउनुलगायत हुन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ५४ राष्ट्रका करिब ९४ करोड ७० लाख व्यक्ति यो रोगको जोखिममा छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७३ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?