रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना

काठमाडौं — वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग मिलेर रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरेको छ ।

रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वातावरण विभागका सिनियर डिजिनल केमिस्ट शंकरप्रसाद पौडेलका अनुसार केन्द्रले आँखाले देख्न नसक्ने पार्टीकुलर म्याटर (पिएम) १०, पिएम २.५ र टोटल सस्पेण्डेट्‌स पार्टीकुलेटका कणको तथ्यांक दिनेछ । ‘रत्नपार्कको केन्द्रले सिंहदरबार र थापाथली क्षेत्रसम्मको तथ्यांक रेकर्ड गर्नेछ,’ पौडेलले कान्तिपुरलाई भने, ‘केन्द्रले हरेक मिनेटमा नयाँ तथ्यांक दिनेछ ।’
विभागले केन्द्रले दिएका धूलोका कणको तथ्यांकलाई आफ्नो वेबसाइट ‘पोलुसन डट जिओभी डट एनपी’मा अपलोड गर्नेछ । केन्द्रको मंगलबार वातावरण सचिव डा.विश्वनाथ ओलीले उद्घाटन गरेका छन् ।
 
मन्त्रालयले यसअघि पनि इसिमोडको सहयोगमा धुलिखेल, पुल्चोक, लुम्बिनी र सौराहामा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । केन्द्रले धूलोका कणको मात्राका साथै उक्त क्षेत्रमा हानिकारक ग्यास सल्फरडाइअक्साइड, कार्बन मोनोअक्साईडलगायतको अवस्थाको समेत तथ्यांक दिनेछ । काठमाडौं उपत्यकामा अहिले स्थापना भएका जस्तै १४ वटा केन्द्र राखिए उपत्यका भरको प्रदूषणको अवस्था थाहा पाउन सकिने पौडेलले बताए ।

यसैबीच वातावरण विभाग र अमेरिकी दूतावासबीच काठमाडौंको वायुको गुणस्तर सुधार गर्न संयुक्त काम गर्ने सम्झौता भएको छ । दूतावासले वायुको गुणस्तर सुधारका लागि अमेरिकास्थित ‘युनाईटेट स्टेट इन्भारोमेन्ट प्रोटेक्सन ऐजेन्सी’मार्फत सहयोग गर्ने सम्झौता भएको हो ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसाग मिलेर आफ्नो संस्थाले विभिन्न क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको जानकारी दिए । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्‌ले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित : चैत्र १, २०७३ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?