कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

व्यावसायीक मर्यादा पालना नगरेको भन्दै निगमले गर्‍यो दुई पाइलटलाई ग्राउन्डेड

नीजि एयरलाइन्सलाई फाइदा पुर्‍याउनेदेखि जाहाज बिगार्ने काम गरेको आरोप

काठमाडौं — बेलैमा जहाज नउडाउने, बाहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने लगायतका अभियोगमा नेपाल वायु सेवा निगमले चिनिया विमान वाई १२ ई उडाउने दुई जना क्याप्टेनलाई सजाय स्वरुप ग्राउन्डेड (निलम्बन) गरिदिएको छ ।

व्यावसायीक मर्यादा पालना नगरेको भन्दै निगमले गर्‍यो दुई पाइलटलाई ग्राउन्डेड

निगम स्रोतका अनुसार, वाई १२ ई का वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र क्याप्टेन सञ्यय बादे श्रेष्ठलाई निगमले अर्को निर्णय नहुन्जेल सम्मका लागि ग्राउन्डेड गरेको हो । हाल यो वर्गका दुइटा विमान उडाउन चार क्याप्टेनसहित ११ जना पाइलट छन् । यीमध्ये भट्टराई वरिष्ठ क्याप्टेन हुन भने श्रेष्ठ क्याप्टेन हुन् । यी दुवैलाई कारवाही गरिएपछि अहिले एक्ला क्याप्टेन उद्धव घिमिरेको कमाण्डमा यो जहाजले काठमाडौं–पोखरा–काठमाडौं र काठमाडौं–भैरहवा–काठमाडौं जहाज उडाइरहेका छन् ।

कारवाही स्वरुप ग्राउन्डेड गरिएका क्याप्टेन भट्टराई र श्रेष्ठलाई निगमले व्यवसायिक अनुशासन उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ । ‘निजी एयरलाइन्सलाई फाइदा पुग्नेगरी निगमको जहाज नउडाइदिने, जहाज बिगार्ने, उडानमा जाने पाइलटलाई धम्क्याउने, अपरेशन विभाग प्रमुख रविन्द्र शेरचनलाई असभ्य गालीगलौच र जाइलागेको लगायतका आरोप छन,’ निगमको उच्च स्रोतले कान्तिपुरलाई भन्यो ।

दुईमध्ये अलि गम्भीर अभियोग भट्टराईलाई लगाइएको छ । उनलाई निगमले निस्कासन नै गर्ने तयारी गरेको छ । ‘निगमका महाप्रवन्धक सुगतरत्न कशांकारले कम्पनीको हितविपरित काम गर्ने पाइलट, इन्जिनियर लगायतका कुनै पनि तहका कर्मचारीले गल्ती गरे अपराधसरह ठानिने भन्दै जागिरबाटै निस्काशन गर्ने निर्देशन दिनुभएको छ,’ निगमका एक निर्देशकले भने । यी दुईजनाबारे निगमले आन्तरिक रुपमा छानविन गरीरहेको छ । छानविन नसकिएसम्म ग्राउन्डेड गरिएको छ । अर्थात यी दुवैलाई नसियतका रुपमा डेढ महिनादेखी विमान उडाउन दिइएको छैन ।


स्रोतका अनुसार, यी दुई जना काममा रहेका बेला करिब नौं महिना वाई१२ई विमान ग्राउन्डेड भएको थियो । ‘अहिले यो विमानको एक्लो क्याप्टेन उद्धव घिमिरेको नेतृत्वमा विमान नियमित उडिरहेको छ’, स्रोत भन्छ ।

निगमले १९ सिट क्षमताको यो विमान दुर्गम भेगको उडानकालागी ल्याएको हो । हाल निगमसँग चीनले बनाएको यो वर्गका दुइटा विमान छन् । यीनले लुक्ला र जोमसोममा टेस्ट फलाइट गर्न बाकि छ ।
उच्च भेगमा टेस्ट फ्लाइट गर्न प्रशिक्षक पाइलट चाहिने भएकाले यी विमानले ती क्षेत्रमा उडान गरिसकेको छैन । निगमले हालै एकजना चिनियाँ प्रशिक्षक पाइलटमार्फत लुक्ला र जोमसोम टेस्ट फ्लाइट गर्ने तयारी गरेको थियो । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले दुइ क्याप्टेनको कारवाही फुकुवा भइनसकेको बताए ।

प्रकाशित : चैत्र १, २०७३ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?