१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र

काठमाडौं — वातावरण मन्त्रालयले रत्नपार्क रानीपोखरीमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा केन्द्र स्थापना गरेको हो ।

वातावरण विभागका सिनियर डिजिनल केमिस्ट शंकरप्रसाद पौडेलका अनुसार केन्द्रले आँखाले देख्न नसक्ने पार्टिकुलर म्याटर (पीएम) १०, पीएम २.५ र टोटल सस्पेन्डेडट पार्टिकलुलेटका कणको तथ्यांक दिनेछ । ‘रत्नपार्कको केन्द्रले सिंहदरबार, लैनचौर, ठमेल, नक्साल, थापाथली क्षेत्रसम्मको तथ्यांक रेकर्ड गर्नेछ,’ पौडेलले कान्तिपुरसँग भने, ‘केन्द्रले हरेक मिनेटमा नयाँ तथ्यांक दिनेछ ।’

विभागले केन्द्रबाट प्राप्त धूलोका कणको तथ्यांकलाई आफ्नो वेबसाइट ‘पोलुुसन डट जीओभी डट एनपी’मा अपलोड गर्न थालेको छ । मंगलबार केन्द्रले गरेको धूलोका कणको तथ्यांक सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड आसपासै छ । २ दिनदेखि पानी परेका कारण धूलोको मात्रा कम भएको पौडेलको भनाइ छ । केन्द्रको मंगलबार वातावरण सचिव विश्वनाथ ओलीले उद्घाटन गर्दै यसले धूलो र धुवाँको अवस्था अनुगमन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्रालयले यसअघि पनि इसिमोडको आर्थिक र प्राविधिक सहयोगमा धुलिखेल, पुल्चोक, लुम्बिनी र सौराहामा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । केन्द्रले धूलोका कणको मात्राका साथै उक्त क्षेत्रमा हानिकारक ग्यास सल्फरडाइअक्साइड, कार्बन मोनोअक्साइडलगायतको अवस्थाको समेत तथ्यांक दिनेछ । अहिले स्थापना भएका जस्तै १४ केन्द्र राखिए उपत्यकाभरको प्रदूषणको अवस्था थाहा पाउन सकिने पौडेलले बताए ।

यसैबीच वातावरण विभाग र अमेरिकी दूतावासबीच काठमाडौंको वायुको गुणस्तर सुधार गर्न संयुक्त काम गर्ने सम्झौता भएको छ । दूतावासले वायुको गुणस्तर सुधारका लागि अमेरिकास्थित ‘युनाइटेट स्टेट इन्भारोमेन्ट प्रोटेक्सन एजेन्सी’ मार्फत सहयोग गर्ने सम्झौता भएको हो ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसँग मिलेर विभिन्न स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्न पाउँदा खुसी लागेको सुनाए । कार्यक्रममा अमेरिकी राजदूत एलाइना टेप्लिजले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको र आगामी दिनमा पनि सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : चैत्र २, २०७३ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?