२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भारतसँग ओलीको आग्रह, 'नेपाली हस्तक्षेप र हेपिएको मन पराउँदैनन्’

सरकारले ७ महिनामा निर्वाचन मिति तोक्नेबाहेक कुनै काम गर्न नसकेको टिप्पणी
चित्रांग थापा

महेन्द्रनगर — नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन भइसक्ने संवैधानिक व्यवस्था भएकोले निर्धारित समयसीमाभित्र चुनाव हुन नसके मुलुकमा गम्भीर संवैधानिक संकट, अन्योल र जटिलता उत्पन्न हुन सक्ने बताएका छन् ।

भारतसँग ओलीको आग्रह, 'नेपाली हस्तक्षेप र हेपिएको मन पराउँदैनन्’

फागुन २१ गते झापाको काकडभित्ताबाट सुरु भएको पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सुदूरपश्चिमको कञ्चनपुरमा समापन भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले समयसीमाभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नका लागि उचित वातावरण निर्माण गर्न पार्टीले अभियान सुरु गरेको जानकारी दिएका हुन् । ‘यो असाधारण अभियान हो’ उनले भने, ‘अभियानको मुख्य उद्देश्य संविधान कार्यान्वयनका लागि जनदबाब सृष्टि गर्नु, तीनै तहको निर्वाचन गरेर राजनीतिक स्थायित्व कायम गर्न उचित वातावरण तयार गर्नु रहेको छ ।’ उनले मुलुकको राष्ट्रिय स्वाभिमान र स्वाधिनतामाथि देखापरेका चुनौतीहरुलाई चिर्न जनचेतना अभिवृद्धि गर्न र विभिन्न खाले अतिवादका कारण खल्बलिन थालेको सामाजिक सदभावलाई सुदृढ गर्नु पनि अभियानको उद्देश्य रहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा ओलीले सरकारलाई निरीह सरकारको संज्ञा दिँदै ‘निर्वाचन नहुने, नगराउने कुनै काम नगर्न’ सचेत गराएका छन् । उनले कानुन नमान्नेहरु पूर्णरुपमा डामेर छाडेका साँढे जस्ता भएको उल्लेख गर्दै यो सरकारले ७ महिनामा वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुने मिति तोक्नेबाहेक अरु कुनै काम गर्न नसकेको आरोप लगाए । उनले चुनाव हुन नदिन प्रधानमन्त्री आफैं षड्यन्त्र गरिरहेका छन् वा अरु कसैको षड्यन्त्रमा परेका छन् भन्दै सरकार गलत ढंगले प्रयोग भइरहेको बताए । आफूले शुक्रबार बिहानै प्रधानमन्त्रीसँग यसबारे कुरा गरेको ओलीले जानकारी दिए ।

अध्यक्ष ओलीले तल्लो स्थानीय तहसम्म अधिकार पुर्‍याउन संघीयता आएको उल्लेख गर्दै अझै अधिकार केन्द्रमै राख्ने षड्यन्त्र भइरहेको बताए । ‘नगर प्रमुख र उपप्रमुखहरुलाई राज्यसभाका लागि मतदान गर्न पाउने अधिकार बञ्चित गरिँदैछ, स्थानीय निकायको संख्यामा विवाद गरिँदैछ’ उनले भने, ‘कहिले केन्द्रको कहिले प्रदेशको नियन्त्रणमा स्थानीय तहको माग उठिरहेको छ ।’

आफूले जिते मान्ने हारे नमान्ने, बहुमतको कदर नगर्ने जस्तो परिपाटी मान्ने केही दलका कारण संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको उनले बताए । कांग्रेस आफूलाई प्रजातान्त्रिक भन्छ तर उसको धारण के हो बुझ्नु पर्ने भएको ओलीले बताए । ‘पर्सि काठमाडौं पुगेर शेरबहादुरजीसँग यसबारे कुरा गर्छु’ उनले भने ।

अध्यक्ष ओलीले भारत जस्तो ठूलो देशले सीमाका ससाना समस्यामा लफडा गर्न नहुने बताए । ‘सतहमा जे देखा परे पनि नेपालीहरु गहिराइमा हस्तक्षेप र हेपिएको मन पराउँदैनन्’ उनले भने, नेपाली जनतालाई थिचोमिचो गर्ने कामबाट भारत अलग रहनु पर्छ ।’ सीमास्तम्भ हराएपछि भारतीय सुरक्षाकर्मी नेपाल पस्ने गरेको उनले बताए । ‘भारत हेप्न चाहन्छ हामी हेपिन चाहँदैनौं’ उनले भने । अध्यक्ष ओलीले पुनर्वास घटनाका घाइतेको उपचार खर्चका लागि पार्टीको तर्फबाट ५० हजार प्रदान गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७३ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?