२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ठगिएर दिल्ली पुग्ने निकै

कमलदेव भट्टराई

नयाँदिल्ली — सामाजिक सञ्जालबाट घनिष्ठता बढाएर ठग्ने नेपाली तथा विदेशीहरूको एउटा ठूलो गिरोह भारतमा सक्रिय रहेको पाइएको छ । खासगरी महिलाहरूसँग फेसबुकमार्फत नजिकको सम्बन्ध कायम भएको आभास गराएर ठगी गर्ने प्रचलन निकै बढेको छ ।

 दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर एसएसपी यादव खनालका अनुसार एक वर्षमा २० व्यक्ति यसरी ठगिएको भन्दै सहयोग दूतावास आएका छन् । तीमध्ये ९० प्रतिशतभन्दा बढी महिला छन् । ‘ठगी भएकाले अन्तिम समयसम्म पनि आफू ठगिएको विश्वास गर्दैनन् किनकि उनीहरूलाई निकै माया गर्ने र नजिकको सम्बन्ध भएको भ्रममा पारिएको हुन्छ,’ खनालले भने । 

दिल्ली दूतावासमा आएका अधिकांश महिला भन्ने गर्छन्, ‘यो ठगी हुनै सक्दैन, उसले मलाई कति माया गर्छ ।’ केही महिनाअघि एक युवतीलाई अब बिहे गर्ने हो, इन्गेजमेन्टको उपहार तथा पैसा पठाएको छु, दिल्ली एयरपोर्टमा रोकिएको छ भन्दै ठगिएको थियो । श्रीमान्सँग छुटिएर बसेकी एक महिला हालै सोही चक्करमा दिल्ली आएकी थिइन् । उनले दूतावासमा निवेदनसमेत दिएकी थिइन् । 

खासगरी पहिला फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने, लामो समयसम्म कुराकानी गर्ने, प्रेम वा विवाह गर्छु भन्ने र नजिक भएको ठानेपछि ठग्ने प्रक्रिया सुरु गर्ने गरिएको पाइएको छ । ठगीमा धेरैजसो नाइजेरियन नागरिकहरू रहेको पाइएको छ । फेसबुकमा निकटको सम्बन्ध भइरहेकै समयमा कुनै भारतीय नम्बरबाट नेपालमा रहेका व्यक्तिहरूलाई फोन आउँछ ।

 फोनमा भनिन्छ, ‘तपाईंको केही पैसा र सामग्री आएको छ, तर त्यो भन्सारमा अडकिएको छ, त्यसलाई छुटाउन केही पैसा आवश्यक छ । पठाउनुहोला ।’ उता फेसबुकको साथीले पनि त्यही सन्देश दिन्छ । आफ्नो मिल्ने साथी वा प्रेमिकाले पठाएको गिफ्ट तथा पैसा छुटाउन पैसा दिन तयार नहुने कुरै भएन । त्यो व्यक्तिले भारतको कुनै बैंकको खाता दिन्छ । फेसबुकमा साथी बनेका यस्ता ठगहरूले आफू बेलायत, अमेरिकालगायत मुलुकहरूमा रहेको बताउने गरेका हुन्छन् । तर उनीहरू भारतमा नै रहने गर्छन् ।
सुरुमा केही रकम जम्मा गरेपछि त्यसले पुगेन भन्दै निरन्तर थप गर्न लगाइन्छ । त्यसै सिलसिलामा नेपालमा रहेका ती व्यक्तिलाई सामान लिन दिल्ली आउनुस् भनेर खबर गरिन्छ । त्यति बेलासम्म बैंकमा धेरै रकम जम्मा हुन्छ । जब ती व्यक्ति दिल्लीमा आउँछन्, दिल्लीबाट फोन गर्ने मान्छे अकस्मात् हराउँछ र फोन बन्द हुन्छ । अनि मात्र ठगीमा परेको थाहा हुन्छ । अहिलेसम्म ५ लाखदेखि २० लाखसम्म बैंक खातामा जम्मा गर्नेहरू भेटिएका छन् । त्यति नै बेला त्यो व्यक्ति फेसबुक एकाउन्ट डिएक्टिभेट गरेर गायब हुन्छ ।

एसएसपी खनालका अनुसार केही नाइजेरियन मूलका व्यक्तिहरूलाई दिल्ली पुलिसको अपराध शाखाले पक्रेर अनुसन्धान थालेको छ । ती व्यक्तिले केही सोझा तथा गरिबहरूलाई केही पैसा दिएर उनीहरूको बैंक खाता खोल्ने र पैसा झिकेपछि बन्द गर्ने गरेका छन् । धेरै व्यक्ति दिल्लीमा आएर अलपत्रसमेत पर्ने गरेका छन् । कतिपयले भने आफ्ना सामान छुटाउन पहल गर्न काठमाडांैबाट दिल्ली दूतावासलाई खबर गर्ने गरेका छन् । खनाल भन्छन्, ‘अहिले चाहिँ कसैले मेरो साथीले पठाएको सामान एयरपोर्ट भन्सारमा रोकियो भन्नेबित्तिकै तपाईं ठगिनु भो भन्ने गर्छु ।’ 

प्रकाशित : चैत्र ६, २०७३ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?