कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मत आधारमा चिह्न–क्रम

काठमाडौं — निर्वाचन आयोगले पछिल्लो संविधानसभा चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा संसद्मा प्रतिनिधित्व गर्ने २६ दलको चुनाव चिह्नको क्रम मतपत्रमा तय गरेको छ ।

समानुपातिकमा सबभन्दा बढी मत ल्याएको कांग्रेसको रूख चुनाव चिह्न सुरुमा रहेको छ भने दोस्रो बढी मत ल्याएको एमालेको चुनाव चिह्न सूर्य मतपत्रको दोस्रो स्थानमा छ । माओवादी केन्द्रको गोलो घेराभित्रको हँसिया हथौडा तेस्रो र राप्रपाको गाई चुनाव चिह्न चौथो नम्बरमा रहनेछ । 

यसअघि चुनावका लागि दल दर्ता गर्न जो पहिला आउँछ, उसैको चुनाव चिह्न सुरुमा रहने परम्परा थियो । आफ्नो चुनाव चिह्न मतपत्रको माथिल्लो भागमा पार्न हुने हानाथाप अन्त्य गर्न आयोगले पछिल्लो चुनावको मतलाई आधार मानी क्रम तोकेको हो । दल दर्ता खुलेको दिन आयोगको कार्यालयमा पुग्न पार्टीहरूबीच हानाथाप हुने, नेता तथा कार्यकर्ता रातिदेखि लाइन बस्ने, कहिलेकाहीँ झगडा र कुटपिटसमेत हुने गथ्र्यो । आयोगले संसद्मा प्रतिनिधित्व गर्ने २६ दललाई उनीहरूको पुरानै चुनाव चिह्न दिएको छ । 

संसद्को प्रतिनिधित्व गर्ने ३० दलमध्ये राप्रपा र राप्रपा नेपाल एकीकृत भई राप्रपा तथा मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेकाले संख्या घटेको हो । यस्तै नेपा: राष्ट्रिय पार्टी यस पटक आयोगमा दर्ता नै हुन आएन भने समाजवादी जनता पार्टी खारेजीको अवस्थामा रहेकाले २६ वटा मात्रै पार्टीले पुरानै चुनाव पाएका हुन् । 

‘स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गर्दा संसद्मा प्रतिनिधित्व गर्ने दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्ने’ आयोगको निर्णयमा भनिएको छ । 

निर्णयअनुसार पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न रहनेछ । त्यसपछि क्रमश: फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी, नेकपा (माले), नेमकिपा, तराई–मधेस 
सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, बहुजन शक्ति पार्टी, नेपाली जनता दल, फोरम (गणतान्त्रिक), नेपाल सद्भावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टीको चुनाव चिह्न हुनेछ ।

कांग्रेसले डोल्पामा र राप्रपाले ९ जिल्लामा चुनाव लड्न नपाउने कांग्रेसले डोल्पामा र राप्रपाले ९ जिल्लामा स्थानीय तहको चुनाव लड्न नपाउने भएका छन् । आयोग स्रोतका अनुसार राप्रपाले मोरङ, सिरहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पा जिल्लामा चुनाव लड्न पाउने छैन । 

कांग्रेसले एक र राप्रपाले ९ जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नगरेकाले चुनाव लड्न नपाउने भएका हुन् । आयोगले स्थानीत तहको चुनावका दल दर्ता गर्न पुस २५ देखि माघ १७ सम्मको समय दिएको थियो । उक्त अवधिमा पार्टीहरूले आफूले चुनाव लड्ने जिल्लामा दल दर्ता गर्न‘पर्ने थियो । 

आफ्नो मागबमोजिम संविधान संशोधन हुन नसकेकामा असन्तुष्टि प्रकट गर्दै निर्वाचन बहिष्कारको घोषणा गरे पनि सबै मधेसी दलहरूले स्थानीय तहको चुनावका लागि तराई–मधेसका सबै जिल्लामा दल दर्ता गराएका छन् । ती मधेसी पार्टीले तराई–मधेसका २० जिल्लाका अतिरिक्त धेरैजसो पहाडी जिल्लामा समेत स्थानीय चुनावका लागि दल दर्ता गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता नगरेका पार्टीहरूले स्वतन्त्र हैसियतमा उम्मेदवार उठाउन सक्ने छन् । त्यसरी लड्दा पार्टीकै चुनाव चिह्न पाउने छैनन् । स्वतन्त्रकै चुनाव चिह्न लिनुपर्ने छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?