उपत्यकामा सेमेस्टर प्रणाली

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसपटकदेखि उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ । त्रिविले दुई वर्षअघि ३९ वटा केन्द्रीय विभागबाट सेमेस्टर सुरु गरेको थियो । त्रिविले यस वर्षदेखि उपत्यकाका २२ आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर सुरु गर्न लागेको हो ।

अर्को शैक्षिक सत्रदेखि उपत्यका बाहिरका सबै क्याम्पसमा पनि सेमेस्टर लागू हुने त्रिविले जनाएको छ । सेमेस्टर प्रणालीबाट अध्ययन गरेका विद्यार्थी वार्षिक प्रणालीबाट पढेको भन्दा योग्य हुने त्रिविको दाबी छ । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षा संकायको डिन कार्यालयले पहिलो समेस्टरको भर्ना आवेदन फारामसमेत खुलाइसकेका छन् । मानविकीको फागुन ३० देखि खुलाएको फाराम चैत २२ सम्म भर्न सकिने डिन कार्यालयले जनाएको छ । प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थी मात्रै सेमेस्टर प्रणालीमा अध्ययन गर्न पाउने छन् । डिन कार्यालयका अनुुसार चैत २८ मा प्रवेश परीक्षा हुनेछ ।

शिक्षाशास्त्र संकायले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना आवेदन खुलाएको छ । डिन कार्यालयका अनुसार उपत्यकाभित्रका एमएड कार्यक्रम सञ्चालित सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू, खुुला तथा दूर सिकाइ कार्यक्रम, सूचना प्रविधि तथा सञ्चार शिक्षा, जीवविज्ञान, भौतिक शास्त्रमा सेमेस्टर प्रणालीबाट सुरु गर्न लागिएको हो ।

फागुन ३० देखि खुलेको आवेदन फाराम चैत १४ सम्म भर्नुपर्ने हुन्छ । चैत १९ मा प्रवेश परीक्षा लिएर विद्यार्थी छानेपछि चैत २८ देखि कक्षा सञ्चालन गर्ने डिन कार्यालयले जनाएको छ ।

केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु भएपछि शिक्षक र विद्यार्थी नियमित क्याम्पस आउन थालेको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले बताए । ‘यसअघि सुरु भएको सेमेस्टर प्रणालीबाट त्रिविको शैक्षिक गुणस्तर सुधारको संकेत देखा परेको छ,’ उनले भने, ‘वार्षिकभन्दा अलि बढी शुल्क लाग्छ । शैक्षिक परिवर्तन पनि हुनेछ ।’ यो प्रणालीले कक्षामा नआउने शिक्षकको खोजी विद्यार्थीले गर्न थालेको उनले बताए ।

ढकालका अनुसार वार्षिक प्रणालीमा विद्यार्थी भर्ना गरेर कक्षामा आउँदैन थिए । फाराम भरेर परीक्षामा मात्रै सहभागी हुन्थे । सेमेस्टर प्रणालीमा क्याम्पस खुलेको ८० प्रतिशतभन्दा बढी दिन हाजिर हुनैपर्ने प्रावधान छ । भर्ना भएका सबैजसो विद्यार्थी क्याम्पस आएपछि पढ्ने वातावरण बनेको ढकालले बताए ।

केन्द्रीय विभागहरूमा सेमेस्टर र काठमाडौं उपत्यकाका अन्य क्याम्पसमा वार्षिक प्रणालीअनुुसार पढाइ हुँदा न्यून विद्यार्थीको रोजाइ मात्रै सेमेस्टर हुन्थ्यो । त्रिविले सेमेस्टरबाट अध्ययन गर्न नसक्ने विद्यार्थीलाई खुला तथा दूर शिक्षाबाट अध्ययन गर्न सकिने ढोका खुला राखेको छ । ‘काम गर्दै पढ्ने विद्यार्थी दूर शिक्षाबाट अध्ययन गर्न सक्छन्,’ ढकालले भने ।

चर्को आवेदन शुल्क
त्रिविले सेमेस्टर प्रणाली लागू गरेसँगै रजिस्ट्रेसन फारामको शुल्क चर्को लिन थालेको छ । आवेदन फारामको एक हजार रुपैयाँ तय गरिएको छ । फारामकै एक हजार शुल्क लिएपछि शैक्षिक शुल्क महँगो हुन सक्ने भन्दै विद्यार्थीमा आशंका बढेको छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?