१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बहुराष्ट्रिय सैनिक अभ्यास आजबाट

काठमाडौं — राष्ट्रसंघको शान्ति मिसनमा काम गर्दा सहज होस् भन्ने हेतुले आयोजना गरिने ‘बहुराष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण’ काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबार सुरु हुँदैछ । नेपाली सेनाले तेस्रो पटक आयोजना गरेको प्रशिक्षण चैत ७ देखि २१ सम्म हुनेछ ।

प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक सहभागी हुँदैछन् । छिमेकी भारत र चीन भने यसमा सहभागी छैनन् ।  

केन्द्रका प्रमुख महासेनानी प्रयोगजंग राणाले आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘महत्त्वपूर्ण प्रशिक्षणको तयारी पूरा भइसकेको’ बताए । नेपालले यसअघि सन् २००० र  २०१३ मा यस्तो प्रशिक्षण गरेको थियो । बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, मंगोलिया, श्रीलंकालगायत मुलुकले हरेक वर्ष विभिन्न नाममा शान्ति मिसनमा मिलेर काम गर्न सहज होस् भनेर उक्त प्रशिक्षण गर्दै आएका छन् ।

प्रशिक्षणमा नेपाल, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्जगोभिना, घाना, रुवान्डा, जोर्डन, कजाकस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको, उरुग्वे, अस्ट्रेलिया, क्यानडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिका सहभागी छन् । नेपाली सेनाले व्यवस्थापनको पूर्ण व्यवस्था गरे पनि यसको प्रशासन र आर्थिक पक्षमा नेपाली सेना र अमेरिकी प्यासिफिक कमान्डले संयुक्त रूपमा बेहोर्ने छन् ।

अमेरिकाको प्यासिफिक कमान्डका कमान्डर एडमिरल हेरी बी हेरिस जेआर पनि आएका छन् । प्रशिक्षणसँगै हुने क्षेत्रीय अभ्यास सेमिनारमा भाग लिन राष्ट्रसंघका महासचिवका शान्ति मिसन अपरेसनका सुरक्षा सल्लाहकार लेफटिनेन्ट जनरल कार्लोस हुम्बेर्टो आउँदै छन् । 

प्रकाशित : चैत्र ७, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?