कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रसंघको प्रस्तावमा पर्‍यो चीनको 'वान बेल्ट वान रोड ' परियोजना

कमलदेव भट्टराई

नयाँ दिल्ली — भारतले आफूसँग कुनै परामर्श नगरेको तथा आफ्नो सार्वभौसत्तालाई ख्याल नगरिएको भनी चीनसँग लगातार उठाउँदै आएको 'वान बेल्ट वान रोड ' परियोजनालाई पहिलोपटक राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रस्तावमा उल्लेख गरेको छ । राष्ट्रसंघको प्रस्तावको बारेमा भारतले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरिनसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

राष्ट्रसंघको प्रस्तावमा पर्‍यो चीनको 'वान बेल्ट वान रोड ' परियोजना

चीनले भने यसलाई आफ्नो परियोजनाबारे अन्तर्राष्ट्रिय सहमति जुटेको रुपमा प्रस्तुत गरेको छ ।

सो मेगा परियोजना अन्तर्गत बहुचर्चित चाइना-पाकिस्तान इकोनोमिक करिडोर पनि पर्दछ । सो परियोजना विवादित भूमी काश्मीबाट हुँदै जाने भएकाले भारतले चीनसँग उच्च तहमा पटकपटक यो विषय उठाइरहेको छ । भारत यसलाई आफ्नो सार्वभौसत्ता माथिको आक्रमण भएको बताइरहेको छ तर चीन र पाकिस्तानले भने यसलाई अगाडि बढाइरहेका छन् । हिन्दुतान टाइम्सले प्रकाशित गरेको समाचारमा राष्ट्रसंघको यो निर्णयले परिस्थितिलाई झन् जटिल बनाउन सक्ने उल्लेख गरिएको छ ।

राष्ट्रसंघको अफगानिस्तानस्थित मिसनको अवधि बढाउने सम्बन्धी सुरक्षा परिषदको प्रस्तावमा सो उल्लेख गरिएको हो । सो प्रस्तावले यस क्षेत्रका मुलुकहरुलाई क्षेत्रीय आर्थिक सहयोगको प्रक्रियालाई सुदृढ पार्न र क्षेत्रीय कनेक्टीभिटी व्यापार तथा पावबहनका लागि कदमहरु चाल्न आग्रह गरेको छ ।

‘यस क्षेत्रका देशहरुलाई क्षेत्रीय विकासका पहलहरु जस्तो सिल्क रोड इकोनोमिक वेल्ट र एक्काइसौं शताब्दीको वेल्ट एण्ड रोड परियोजनाहरुलाई अगाडि बढाउन आग्रह गर्दछौं,’ सो प्रस्तावमा भनिएको छ । त्यसैगरी सो परियोजनमा तुर्किमिनास्तन-अफगानिस्तान-पाकिस्तान-इन्डिया पाइप लाइनको तथा अन्य ठूला कनेक्टीभिटी तथा विकासका परियोजनाबारेमा पनि उल्लेख गरिएको छ । सो प्रस्तावमा सो परियोजनलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय पहल सुदृढ बनाउन आवश्यक भएको बताइएको छ ।

प्रस्तावमा सो उल्लेख गरेपछि संयुक्त राष्ट्र्रसंघका लागि चीनका स्थायी दूतले राष्ट्रसंघको प्रस्तावका पहिलोपटक सो प्रस्ताव उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले सो प्रस्तावलाई स्वीकार्ने विषयमा अन्तर्राष्ट्रिय समुदायमा एक किसिमको सहमति देखिएको समेत दाबी गरेका छन् । उनले आगामी मे महिनामा यसै परियोजनाबारेमा बेइजिङमा हुन लागेको सम्मेलनको लागि यसले सकारात्मक वातावरण सिर्जना गरेको समेत बताएका छन् ।

चीनले सोही परियोजनालाई अगाडि बढाउनका लागि आगामी मे महिनामा एक दर्जनभन्दा बढी विश्वका नेताहरुलाई सो कार्यक्रममा बोलाउने तयारी गरिरहेको छ । सो सम्मेलनमा चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत आमन्त्रण गरेको छ तर उनी सहभागी हुने छैनन् ।

चीनले वेल्ट एण्ड रोड परियोजनामा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरिरहेको छ । तर नेपालले भने त्यसको पर्याप्त तयारी गरेको छैन । आगामी हप्ता हुने प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा यसमा हस्ताक्षर हुने हो अथवा होइन भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित : चैत्र ७, २०७३ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?