१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

वातावरण समितिले भन्यो– ‘मेलम्चीले जनस्वास्थ्यमा खेलबाड गर्‍यो’

'ठेकेदारले जथाभावी गरिरहे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको'

काठमाडौं — संसदको वातावरण संरक्षण समितिका सदस्यहरूले खानेपानीको पाइपका लागि सडक खन्दा मेलम्ची खानेपानी आयोजनाले वातावरण र जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै अनुगमन गर्न वातावरणलगायत सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

वातावरण समितिले भन्यो– ‘मेलम्चीले जनस्वास्थ्यमा खेलबाड गर्‍यो’

‘अघिल्लो बैठकले दिएका कुनै पनि निर्देशन मेलम्चीले पालना गरेको देखिन्न,’ वायु प्रदूषणको अवस्थाबारे सोमबार समितिले डाकेको बैठकमा सांसद पुरुषोत्तम पौडेलले भने, ‘५ फिट अग्लो धूलो छेक्ने हरियो कपडा राख्न भनेका थियौं, एक फिटे च्यातिएको कपडाले धूलो छेक्छ ?’ धूलो नउड्ने गरी सडक खन्न, खनिएको सडकमा पानी हाल्न र जतिसक्दो चाँडो पिच गर्न भनिए पनि आयोजनाले टेरपुच्छर नलगाएको उनको गुनासो छ ।

‘आयोजनाले अनुगमनमा ध्यान नदिएकाले ठेकेदारले जथाभावी गरिरहेका छन्,’ पौडेलले भने, ‘उनीहरूलाई ठाउँमा ल्याउने हो भने मीठा कुरा होइन अनुगमन गर्नुपर्छ ।’ अर्का सांसद् दुमनसिंह थापा क्षत्रीले सडक विस्तार र पाइप खन्ने ठेकेदारले जथाभावी गरिरहे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको गुनासो गरे । ‘ठेकेदारलाई नियममा बाँध्न नसक्ने हो भने विकास सम्भवै छैन,’ क्षत्रीले भने ।

उपत्यकामा वायु प्रदूषणको समस्या विकराल बन्दै गएको भन्दै उनले भारत र चीनमा जस्तै ‘इमर्जेन्सी’ लगाउनुपर्ने बेला भइसकेको बताए । वायु प्रदूषणको मात्रा अनुगमनका लागि स्थापना गरिएका मापन केन्द्र नै बिग्रनुको कारण सोध्दै उनले ‘रमाइलो गर्न र देखाउनका लागि’ मात्र त्यस्ता केन्द्र स्थापना नगर्न सुझाए ।

सांसद सकलदेव सुतियारले जनताले भोगिरहेका वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत समस्या सम्बोधन हुने गरी काम गर्न वातावरणमन्त्री जयदेव जोशीको ध्यानाकर्षण गराए । सांसद रञ्जित कर्णले काठमाडौंमा खानेपानीको पाइपका लागि कुन कुन सडक खनिन्छ र त्यसको अवस्था कस्तो हुनेछ भनेर ६ महिनाअघि नै समाचारबाट सार्वजनिक भए पनि समस्या परेपछि मात्र समाधान खोज्नु गलत भएको टिप्पणी गरे ।

सांसद अग्निप्रसाद सापकोटाले सम्बन्धित निकायको इच्छाशक्तिको कमी र अनुगमनमा ध्यान नदिँदा अहिलेको समस्या निम्तिएको बताए । ‘अहिले भोग्नुपरेको समस्या फितलो अनुगमनले नै हो,’ उनले भने, ‘जिम्मेवारीबोधको कमी भयो भने यस्तै समस्या हुन्छ ।’
समितिले उपत्यकामा बढदो वायु प्रदूषण न्यूनीकरण गर्न अन्तरनिकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गर्न र प्लास्टिकको झोला प्रयोगमा लगाइएको प्रतिबन्ध नतिजामूलक रूपमा लागू गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको जानकारी समितिका सचिव सुरज दुराले दिए ।

प्रकाशित : चैत्र ७, २०७३ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?