२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जापानका पूर्वप्रधानमन्त्रीको नेपाल मोह

राजनीतिक स्थायित्व भए लगानी आउँछ : जापानका पूर्वप्रधानमन्त्री

काठमाडौं — जापानका पूर्वप्रधानमन्त्री डा. युकिओ हातोयामा नेपालको चारदिने निजी भ्रमणमा छन् । शनिबार काठमाडौं उत्रिएका उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनले नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् ।

जापानका पूर्वप्रधानमन्त्रीको नेपाल मोह

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनले नेपालमा संविधान जारी भइसकेको र कार्यान्वयनको प्रक्रिया अघि बढेकामा खुसी व्यक्त गरेका थिए । उनले राजनीतिक स्थायित्वले विकासको ढोका खोल्ने हुनाले त्यसतर्फ नेपाल उन्मुख हुुनुपर्ने उल्लेख गरेका थिए ।

‘निर्वाचन र संविधान कार्यान्वयनको कामना गर्छु । जसले नेपालमा लगानी गर्ने वातावरण बन्नेछ । सुन्दर मुलुकमा लगानी बढाउन सबै चाहन्छन्,’ उनले भने । २००९ सेप्टेम्बरदेखि २०१० जुनसम्म जापानको प्रधानमन्त्री रहेका हातोयामा पटक–पटक नेपाल आउने जापानी उच्च राजनीतिज्ञ हुन् । जापानमा केनेडी परिवारको छवि बनाएको हातोयामा परिवारको नेपाल मोह पुरानै हो ।

उनकै हजुरबुबा इचिरो हातोयामा जापानको प्रधानमन्त्री हुँदा सन् १९५६ को सेप्टेम्बरमा नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । उनको परिवारबाट नै चार पुस्तादेखि जापानमा सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद रहँदै आएका छन् ।

हातोयामा परिवारका सदस्यहरूको नेपाल भ्रमण बाक्लिँदै गएको पुराना कूटनीतिज्ञहरू बताउँछन् । हातोयामा चार वर्षअघि पनि निजी भ्रमणमा आएका थिए । यस पटकको भ्रमणका क्रममा उनले दुईपक्षीय व्यापार र नेपालमा लगानीका विषयमा छलफल गरिरहेका छन् ।

उनका पिता इइचिरोले पहिलोपटक सन् १९७७ मा जापानी विदेशमन्त्रीका रूपमा नेपालको औपचारिक भ्रमण गरेका थिए । उनका पिताको भ्रमणको ३५ वर्षपछि मात्र जापानका परराष्ट्रमन्त्री कोइचिरो ग्याम्बाले चार वर्ष अघिमात्र नेपालको औपचारिक भ्रमण गरेको स्मरण जापानका लागि पूर्वराजदूत डा. मदनकुमार भट्टराईले गरे ।

उनको पितासँग सन् १९७७ मा राइजिङ नेपालका लागि अन्तर्वार्ता लिएको स्मरण गर्दै भट्टराईले भने, ‘जापानबाट पहिलोपटक परराष्ट्रमन्त्रीस्तरमा भ्रमण भएको थियो । कुराकानी गर्न पाएँ । पछि जापानमा राजदूत हुँदा उनको परिवारसँग भेटघाट गर्न पाएँ । उनको परिवारमा नेपालप्रति माया र सद्भाव निकै छ ।’

योस्तरको भ्रमणले पनि दुईपक्षीय लगानी र सद्भावलाई माथि उकास्ने पूर्वराजदूतहरू बताउँछन् ।

प्रकाशित : चैत्र ७, २०७३ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?