कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

९० प्रतिशतले दाँत माझ्न जान्दैनन् : दन्त चिकित्सक

विश्व मुख स्वास्थ्य दिवस
अतुल मिश्र

काठमाडौं — दन्त चिकित्सकहरूले करिब ९० प्रतिशत नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । हालसम्म मुलुकमा यसबारे खासै अध्ययन नगरिए पनि उपचारका लागि आएकाहरूको अवस्था हेरेर दन्त चिकित्सकहरू यो आकलनमा पुगेका हुन् ।

९० प्रतिशतले दाँत माझ्न जान्दैनन् : दन्त चिकित्सक

‘हाम्रो आकलनअनुसार करिब ९० प्रतिशतभन्दा बढी नेपालीलाई उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन,’ नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डा. सन्तोषमान राजभण्डारी भन्छन् ।

उनका अनुसार धेरैजसो नेपालीले दाँत सफा गर्नुलाई महत्त्वपूर्ण माने पनि सही तरिका थाहा नभएर अधिकतम फाइदा लिन सकेका छैनन् । मुलुकमा बालबालिकामा करिब ९० प्रतिशत र वयस्कमा करिब ६० प्रतिशतसम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाझ्नु हो । यति मात्र नभई दाँतसम्बन्धी समस्याले नेपालीको औसत आयुमा समेत असर पारिरहेको छ ।

ओरल म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेसमेत दाँतलाई सफा गर्ने विधिमा खासै ध्यान नदिएको बताउँछन् । ‘हामीले दाँत सफा गर्नुलाई एउटा प्रक्रिया ठानेर दिनहुँ झारा टार्ने गर्छौं,’ डा.घिमिरे भने, ‘सर्वसाधारण, पढेलेखेका, विशेषज्ञ मात्र नभई चिकित्सकहरूलाई समेत उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन ।’

बहुसंख्यक नेपालीले दन्त चिकित्सक नजिक पुग्दा दाँत माझ्ने विधिबारे सोध्ने गरेका छैनन् । उनीहरूले कुन टुथपेस्ट, कस्तो ब्रस प्रयोग गर्ने आदिबारे मात्र सोध्छन् । दाँतलाई राम्ररी माझा कुल्ला, डेन्टल फ्लस आदि गर्दा करिब ६० प्रतिशत दाँतसम्बन्धी रोग हुनबाट जोगिन सक्ने डा. घिमिरे बताउँछन् । बिहान खाना खाएपछि र राति खाएर सुत्ने बेला गरी कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । एउटै ब्रस धेरै समयसम्म उपयोग गर्नु हुँदैन । दाँत माझदा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने दन्त चिकित्सकहरूको धारणा छ ।

दिनहुँ गर्ने एउटा प्रक्रिया जस्तै ब्रस वा दतिउन लियो, मिनेट न पुग्दै यताउता गर्‍यो र दाँत माझियो भनेर ठान्नेहरू नै बहुसंख्यक रहेको औंल्याउँदै डा. राजभण्डारी न्यूनतम दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्ने बताउँछन् । ब्रस गरेपछि जिब्रो सफा गर्न भने बिर्सनु हुँदैन । यसले मुखमा भएका किटाणुहरूको संख्यालाई कम गर्छ ।

ब्रसमा समेत ध्यान दिनुपर्छ । बजारमा कडा, नरम, मध्यम, बांगोटिंगो लगायतका विभिन्न प्रकारको ब्रस पाइन्छन् । उसो त तपाईंको गिजा र दाँतको स्वास्थ्य, उमेर हेरेर दन्त चिकित्सकले अनुकूल ब्रस प्रस्तावित गर्छन् ।

डा. राजभण्डारी सामान्यतया धेरै कडा वा बढी नरम ब्रस उपयोग नगर्ने सल्लाह दिन्छन् । कडा ब्रसले दाँत खिइने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम, न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्छ । मुखमा अनुकूल हुने हिसाबको ब्रस उपयोग गर्नुपर्छ ।

ब्रस गर्दा दाँत र गिजालाई न घोचिने गरी माझ्नुपर्छ । किनभने हाम्रो औसत आयु बढिरहेको छ । हामीलाई सहज जीवन यापन गर्न ८० वर्षसम्म स्वस्थ गिजा र दाँत चाहिन्छ ।

सबैभन्दा पहिले ब्रसलाई माथिल्लो दाँतअन्तर्गत गिजाको माथिल्लो भाग राखेर तल दाँततिर आउन दिने । यही प्रक्रिया दोहोर्‍याउने । यसले गिजामा रक्तसञ्चार हुनुका साथै दाँतलाई समेत बलियो बनाउँछ । यसपछि तल्लो दाँतअन्तर्गत तलको गिजाबाट ब्रसलाई माथि दाँतसम्म लिएर जाने । ब्रस तलमाथि गर्नु हुँदैन । दाँतको भित्री भागमा समेत यसैगरी सफा गर्नुपर्ने जनाउँदै डा.घिमिरे टोक्ने भागमा पनि ब्रसले अगाडि/पछाडि गरेर सफा गर्नुपर्ने उल्लेख गर्छन् ।

ब्रस आदि गर्दा दुई दाँतबीचको भाग सफा हुँदैन । यसैले दिनहुँ बिहान र राति गरेर दुई पटक डेन्टल फ्लस अर्थात् एक प्रकारको बेक्स मिसिएको धागोले दुई दाँतबीचको भागलाई सफा गर्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित : चैत्र ७, २०७३ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?