१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रधानमन्त्री–चिनियाँ राष्ट्रपति भेटवार्ता हुने

भ्रमण दल र तालिका अझै टुंगिएन

काठमाडौं — कूटनीतिक कमजोरी र राजनीतिक अस्थिरताको प्रभाव प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा समेत परेको छ । चीन जानु दुई दिनअघिसम्म पनि प्रधानमन्त्रीको चीन भ्रमण कस्तो हुने भन्ने निर्णय हुन सकेको छैन । नेपाल र चीन दुवै देशले भ्रमण कार्यक्रमसमेत सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री दाहाल बोआओ एसियन फोरममा भाग लिन बिहीबार चीन जाँदै छन् । तर उनको भ्रमण कुन स्तरको हुने भन्ने टुंगो लाग्न नसकेकाले कार्यक्रम सार्वजनिक गर्न ढिलाइ भएको स्रोतले दाबी गरेको छ । सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले प्रधानमन्त्री बोआओ फोरममा भाग लिएर बेइजिङ जाने तय भएको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटसमेत हुनेछ । स्रोतका अनुसार उक्त भेट करिब आधा घण्टा हुने तयारीसहित सबै काम अघि बढेको छ । प्रधानमन्त्रीका रूपमा दाहालको यो दोस्रो चीन भ्रमण भए पनि सीसँगको दुईपक्षीय भेट भने यो तेस्रो हो ।  
चैत १० मा नेपाल भ्रमणमा आउने चिनियाँ रक्षामन्त्री चाङ वाङयुसँग भेटवार्ता गरेर दाहाल त्यही दिन राति बोआओ जाने भएका हुन् । उनी एक साता बोआओ, बेइजिङ, चेन्दु र ल्हासामा रहनेछन् । 

भ्रमण राजकीय बनाउने, चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग दुईपक्षीय सम्झौता गर्नेलगायतको तयारी भए पनि कार्यक्रम आकस्मिक रूपमा परिवर्तन भएको हो । प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ दुवै जना न्युजिल्यान्डमा हुने भएपछि प्रधानमन्त्रीले दुई दिनअगावै जाने तयारी समेत गरेका थिए । तर त्यसमा चीनले सहमति जनाएन । अन्तत: उनी चैत १० मा नै त्यसतर्फ गई बोआओमा सम्बोधन गर्ने र १२ गते बेइजिङ पुग्ने गरी तालिका तय भएको छ । उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि जानेछन् । 

प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले अझै पूरा गर्न सकेको छैन । भ्रमणका क्रममा वान बेल्ट वान रोडदेखि अन्य सम्झौता गर्ने विषय पनि अझै टुंगोमा पुग्न सकेको छैन । पुराना सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता र चीनको सहयोग घोषणामात्र यो भ्रमणमा हुनसक्ने अधिकारीहरूले बताए । 

व्यस्त हुनेछन् प्रधानमन्त्री
बेइजिङ (कास)– प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार ग्वान्जाओ हुँदै हैनान पुग्ने भएका छन् । उनले शुक्रबार बिहान चिनियाँ उपप्रधानमन्त्री चाङ काउलीसँग भेटवार्ता गर्नेछन् भने शनिबार बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । 

सम्बोधन सकिएपछि उनी बेइजिङ प्रस्थान गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ आयोजना गर्ने रात्रिभोजमा सहभागी भएर पुराना राजदूत, थिंकट्यांक, प्राध्यापक र नेपालीलाई भेट्ने कार्यक्रम छ । उनी चैत १३ गते दिउँसो बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा आयोजित गोष्ठीमा ‘नेपाल चीन सम्बन्ध : विकास र समृद्धिको अभिलाषा’ विषयमा मन्तव्य राख्नेछन् ।

चीनका लागि राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री दाहालको टोलीको टुंगो लागिनसकेको बताए । परराष्ट्र मन्त्रालयसँग समन्वय गरी टुंगोमा पुगिने पौडेलको भनाइ छ । प्रधानमन्त्री चैत १४ गते अपराह्न बेइजिङबाट चेन्दु प्रस्थान गर्नेछन् भने १५ गते ल्हासा जानेछन् । ल्हासामा केही महत्त्वपूर्ण भेटघाट गर्ने र १६ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?