घरेलु कामदार बलात्कृत

मुद्दा मिलाउन किशोरीको परिवारमाथि ठूलो दबाब

काठमाडौं — घरेलु कामदारका रूपमा काम गर्दै आएकी एक किशोरी पटकपटक यौनहिंसाको सिकार भएकी छन् । काठमाडौं बानेश्वरको एक सरकारी स्कुलमा कक्षा ९ पढदै गरेकी १६ वर्षीया किशोरीमाथि घरधनीबाट बारम्बार बलात्कार भएको हो ।

घरेलु कामदार बलात्कृत

पछिल्लो डेढ वर्षदेखि आफूमाथि बलात्कार भएको भन्दै किशोरीले प्रहरी बृत्त बानेश्वरमा २७ फागुनमा उजुरी गरेपछि घटना बाहिर आएको हो । डोटीकी ती किशोरीलाई डडेल्धुराका एक व्यक्तिले घरेलु कामदारका रूपमा काठमाडौं ल्याएका थिए ।

घरका सदस्यहरू नभएका बेला बारम्बार बलत्कार गर्ने गरेको ती किशोरीले प्रहरीलाई बताएकी छिन् । आफूमाथि भएको यौनहिंसाबारे किशोरीले स्कुलका साथीहरूलाई बताएकी थिइन् । साथीहरूले विद्यालयका शिक्षकलाई बताएका थिए । शिक्षक र साथीहरूकै अनुरोधमा किशोरीले प्रहरी वृत्तमा आफू काम गर्ने घरका मालिकविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीका अनुसार पत्नी, छोरा र आमासहित काठमाडौं बस्ने पीडक विभिन्न व्यवसायमा संग्लन छन् । पीडककी आमाले पढाइदिने र विदेश पठाइदिने भन्दै २ वर्षअघि ती किशोरीलाई काठमाडौं ल्याएकी थिइन् । किशोरीले काठमाडौं आएको तेस्रो महिनादेखि नै घरमालिकबाट बारम्बार बलत्कार भएको प्रहरीसामु बताएकी छिन् ।

बानेश्वर प्रहरी बृत्तका डीएसपी नारायण चिमोरियाले किशोरीको स्वास्थ्य परीक्षण भइसकेको र अनुसन्धान जारी रहेको बताए । तर, उनले अनुसन्धान कुन चरणमा पुगेको छ र यसको निष्कर्ष कहिले आउँछ भन्नेबारे केही बताएनन् । उजुरीलगत्तै बानेश्वर वृत्तले पीडकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । डीएसपी चिमोरियाले अनुसन्धान भइरहेको विषयमा धेरै बोल्न नमिल्ने बताउँदै भने, ‘म्याद थप गरी अनुसन्धान गरिरहेका छौं । केही दिनमा सबै कुरा बाहिर आउँछ ।’

स्रोतका अनुसार बलात्कारको यो मुद्दा मिलाउन किशोरीको परिवारमाथि ठूलो दबाब छ । घटनापछि राजधानी आएका किशोरीका बाबुले छोरी लिएर घर फर्किन खोजिरहेका छन् । केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बालिका मानसिक रूपमा अत्यन्तै कमजोर रहेको र न्यायको पहलमा केही अवरोध भइरहेको बताए । 

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?