गाउँमा खुसी, सदरमुकाममा अन्योल

कान्तिपुर टिम

बागलुङ सदरमुकामका कपडा पसले श्रीराम कँडेल सामान लिन काठमाडौं जाने योजनामा थिए । तर, स्थानीय तह कार्यान्वयनपछि उनी अलमलमा छन् । अब कारोबार पहिलेजस्तो होला/नहोला भन्ने दोधार छ उनलाई ।

‘खोइ अब गाउँका मानिस यता आउने क्रम रोकिन्छ भन्ने सुनेको छु,’ उनले भने, ‘किनमेल गर्ने मान्छे घटेका छन् । अब दुई–चार दिन माहोल बुझेर मात्र सामान थप्ने सोचमा छु ।’

अब नगर र गाउँपालिकाका अलावा तोकिएका वडामा सेवाग्राहीको चाप बढ्ने भन्दै सदरमुकामका अधिकांश व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । अहिल्यैदेखि सदरमुकाममा मानिसको चाप घट्नुका साथै व्यापार घटेको बागलुङ बजार जिपपार्क नजिकैका खाद्यान्न पसले समीर राजभण्डारीले बताए ।उनका अनुसार ग्रामीण बासिन्दाले आफ्नो पसलबाट दैनिक १८/२० हजार रुपैयाँको खाद्यान्न लैजाने गरेकामा अहिले घटेर ११/१२ हजार रुपैयाँमा खुम्चिएको छ ।

ताराखोला ५ ताराखोलाकी मनकुमारी रोकामगर भने स्थानीय तह कार्यान्वयनमा आएपछि सामान्य कामका लागि पनि करिब ६० किलोमिटर टाढाको सदरमुकाम पुग्नुपर्ने बाध्यता टरेको भन्दै हर्षित छिन् । ताराखोला गाउँपालिकाको कार्यालय उनको गाउँबाट करिब ३ घण्टा पैदल दूरीको भातखाने डाँडामा छ । वडा कार्यालय पुग्न भने १५ मिनेट हिँडे पुग्छ । ‘पहिले सामान्य कामका लागि पनि दिन खर्चिएर बागलुङ जानुपथ्र्यो,’ उनले भनिन्, ‘अब धेरै काम वडा कार्यालयबाट नै हुने भएकाले फाइदा छ ।’

कार्यालयमा ताला
राजविराज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका सबै स्थानीय तहमा ताला लगाइदिएका छन् । यसले गर्दा निर्वाचनसम्बन्धी तयारीका साथै स्थानीयका कामकाज प्रभावित छन् ।
गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमा हाजिर हुन पाएका छैनन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार कञ्चनरूप, डाक्नेशवरी, बोदेबरसाइन, खडक, शम्भुनाथ, सुरुंगा र हनुमाननगर कंकालिनी नगरपालिकामा ताला लगाइएको छ । कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोइलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा पनि तालाबन्दी छ । कार्यकर्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको बोर्ड जलाएका छन् ।

स्थानीय तहको पुन:संरचना अवैज्ञानिक र अव्यावहारिक रहेको , स्थानीय तहलाई प्रदेश सरकार मातहत नराखी केन्द्र सरकार मातहत राखिएको, संघीय तथा प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन जबर्जस्ती गर्न खोजिएको मोर्चाको आरोप छ । यस्तै, जिल्ला निर्वाचन कार्यालयले आइतबार राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन बैठक मोर्चा नेताको आग्रहमा स्थगित गरिएको छ । त्यस्तै, मोर्चा कार्यकर्ताले मोरङमा पनि जिल्ला समन्वय समितिसहित नगरपालिका र गाउँपालिकामा तालाबन्दी गरेका छन् । मोर्चाले रंगेली र सुनवर्षा नगरपालिका तथा कटहरी, दादरबेरिया र धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

पूर्वाधारबिनै कार्यान्वयन
लमजुङ– यहाँ कार्यान्वयनमा ल्याइएका ४ नगरपालिकाका आफ्ना भवन छैनन् । ४ गाउँपालिकाले साबिककै गाविस भवनमा कार्यालयको अस्थायी बोर्ड झुन्ड्याएका छन् । सुन्दरबजार र करापुटार नगरपालिकाका भवन बनाउन गत वर्ष विनियोजित १/१ करोड रुपैयाँ बजेट नगरपालिकाले खर्चन सकेन ।

राइनास नगरपालिकाको कार्यालय क्षेत्रमा ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सुविधा छैन । ४ गाउँपालिकाको केन्द्रमा पनि यो समस्या छ । साबिकको गौंडा गाविस सचिव माधवप्रसाद चापागाइँले गाविसभवन रहे पनि गाउँपालिका सञ्चालनका लागि भौतिक संरचना र पूर्वाधार नपुग्ने बताए । गौंडा गाविसको भवनमा दूधपोखरी गाउँपालिकाको केन्द्र तोकिएको छ । ‘५ कोठे भवन त छ, यसले तत्काललाई त होला तर भोलिपर्सि नै समस्या पर्न सक्छ,’ उनले भने । नगरपालिका र गाउँपालिका कार्यालयसम्म जान सेवाग्राहीलाई सडक तथा पुलको सुविधा छैन । कतिपय नगरपालिकाका सेवाग्राही हिँडेरै पुग्नुपर्ने बाध्यता छ । बेंसीसहर नगरपलिकाका सूचना अधिकारी रमेश बस्नेतका अनुसार करिब २८ हजार रुपैयाँ मासिक भाडा तिरेर कार्यालय सञ्चालन गरिँदै आएको छ । बेंसीसहर नगरपालिका जिल्लामै पहिलोपटक २०७१ जेठबाट कार्यान्वयनमा आएको थियो । बेंसीसहरबाहेक अन्य कुनै नगरपालिकासँग वारुण यन्त्र छैन ।

केन्द्र माग्दै सदरमुकाममा
रोल्पा– जिल्लाका कतिपय गाउँपालिका केन्द्रबारे पुन: विवाद उत्पन्न भएको छ । यसमा स्थानीय राजनीतिक दलका कार्यकर्ता विभाजित देखिएका छन् । विवादकै कारण त्रिवेणी र दुई खोली गाउँपालिकामा काम अघि बढ्न सकेको छैन । त्रिवेणी गाउँपालिकाअन्तर्गत गैरीगाउँ, नुवागाउँ र करेटीका बासिन्दा सोमबार केन्द्र फेर्न माग गर्दै सदरमुकाम आए । गैरीगाउँको त्रिवेणीमा केन्द्र तोक्नुपर्ने उनीहरूको भनाइ छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनमोर्चालगायत दलका स्थानीय नेताको नेतृत्वमा सदरमुकाम आएका स्थानीयले करेटीका पूर्वगाविस अध्यक्ष मोहनलाल घर्तीमगरको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् । टँुडिखेलमा जम्मा भएका आन्दोलनकारी समितिको कार्यालयभित्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्यास पड्काएको थियो । निमित्त स्थानीय विकास अधिकारी गोपीराज पुनले उनीहरूका माग मन्त्रालयसम्म पुर्‍याइने बताए ।


धेरै तहका नाम उस्तै

धनकुटा (कास) – नवघोषित स्थानीय तहमध्ये कतिपयको नाम एउटै पाइएको छ भने कतिपयको मिल्दोजुल्दो छ । धनकुटा र ललितपुरमा महालक्ष्मी नगरपालिका छन् । यस्तै ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा सुनकोसी गाउँ तथा नगरपालिका छन् । मकवानपुर, ललितपुर, सर्लाहीमा वाग्मती नामका छन् । रुकुम, रोल्पा, बाजुरामा त्रिवेणी नामका गाउँपालिका र नगरपालिका छन् भने त्रिवेणी जोडिएका अन्य धेरै छन् । सिरहा, धनुषा र महोत्तरीमा औरही नामका छन् ।

तनहुँमा नगर र दार्चुलामा गाउँपालिकाको नाम व्यास राखिएको छ । सोलुखुम्बु, नुवाकोट र ओखलढुंगामा लिखु मिल्दोजुल्दो नाम हो । कैलालीमा उपमहानगर र सिरहामा नगरपालिकाको नाम धनगढी छ । मोरङमा कटहरी, उदयपुरमा कटारी र रौतहटमा कटहरिया पनि मिल्दाजुल्दा छन् । रुपन्देही र नुवाकोटमा कञ्चन गाउँपालिका र सप्तरीमा कञ्चनरूप नगरपालिका छन् ।

यसैगरी हरि नाम जोडिएका झन्डै दर्जन गाउँ तथा नगरपालिका छन् । दैलेखमा गुराँस र तेह्रथुममा लालीगुराँस राखिएको छ । धनकुटामा छथर जोरपाटी र तेह्रथुममा छथर नामका गाउँपालिका छन् । मोरङ र पाँचथरमा मिक्लाजुङ गाउँपालिका छन् । सुनसरीमा बराहनपा र खोटाङमा बराहपोखरी गाउँपालिका छन् ।

सोलुखुम्बु एउटै जिल्लाभित्र सोलुदूधकुण्ड, दूधकोसी र दूधकौसिका छन् भने इलाममा माई, देउमाई र माइजोगमाई छन् । यस्तै व्यक्तिको पुरै नामथरबाट बनेका दुई गाउँपालिका छन् । भोजपुरमा रामप्रसाद राई र डोटीमा केआईसिंह गाउँपालिका छन् । धनकुटाको एक गाउँपालिका मुलुककै सबैभन्दा लामो नामको स्थानीय तह बन्न पुगेको छ । देशका ७ सय ४४ वटा स्थानीय तहमध्ये जिल्लाको ‘खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका’ सबैभन्दा लामो नाम उल्लेख गरिएको छ । उक्त स्थान पञ्चायती शासन व्यवस्थामा छिन्ताङ हत्याकाण्डले परिचित हुन पुगेको थियो । ऐतिहासिक पृष्ठभूमिलाई सम्मान गर्दै छिन्ताङको सहिदका आधारमा सहिद र त्यस क्षेत्रको नाम समग्र नाम खाल्सासमेत समेट्दा लामो हुन गएको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटालेजानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सक भन्छन्–'९० प्रतिशतले दाँत माझ्न जान्दैनन् '

अतुल मिश्र

काठमाडौं — दन्त चिकित्सकहरूले करिब ९० प्रतिशत नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । हालसम्म मुलुकमा यसबारे खासै अध्ययन नगरिए पनि उपचारका लागि आएकाहरूको अवस्था हेरेर दन्त चिकित्सकहरू यो आकलनमा पुगेका हुन् ।

‘हाम्रो आकलनअनुसार करिब ९० प्रतिशतभन्दा बढी नेपालीलाई उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन,’ नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डा. सन्तोषमान राजभण्डारी भन्छन् । 

उनका अनुसार धेरैजसो नेपालीले दाँत सफा गर्नुलाई महत्त्वपूर्ण माने पनि सही तरिका थाहा नभएर अधिकतम फाइदा लिन सकेका छैनन् । मुलुकमा बालबालिकामा करिब ९० प्रतिशत र वयस्कमा करिब ६० प्रतिशतसम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाझ्नु हो ।

यति मात्र नभई दाँतसम्बन्धी समस्याले नेपालीको औसत आयुमा समेत असर पारिरहेको छ । ओरल म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेसमेत दाँतलाई सफा गर्ने विधिमा खासै ध्यान नदिएको बताउँछन् । ‘हामीले दाँत सफा गर्नुलाई एउटा प्रक्रिया ठानेर दिनहुँ झारा टार्ने गर्छौं,’ डा. घिमिरे भने, ‘सर्वसाधारण, पढेलेखेका, विशेषज्ञ मात्र नभई चिकित्सकहरूलाई समेत उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन ।’

बहुसंख्यक नेपालीले दन्त चिकित्सक नजिक पुग्दा दाँत माझ्ने विधिबारे सोध्ने गरेका छैनन् । उनीहरूले कुन टुथपेस्ट, कस्तो ब्रस प्रयोग गर्ने आदिबारे मात्र सोध्छन् । दाँतलाई राम्ररी माझा कुल्ला, डेन्टल फ्लस आदि गर्दा करिब ६० प्रतिशत दाँतसम्बन्धी रोग हुनबाट जोगिन सक्ने डा. घिमिरे बताउँछन् ।

बिहान खाना खाएपछि र राति खाएर सुत्ने बेला गरी कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । एउटै ब्रस धेरै समयसम्म उपयोग गर्नु हुँदैन । दाँत माझदा फ्लोराइड भएको टुथपेस्ट उपयोग गर्नु उपयुक्त हुने दन्त चिकित्सकहरूको धारणा छ । दिनहुँ गर्ने एउटा प्रक्रिया जस्तै ब्रस वा दतिउन लियो, मिनेट न पुग्दै यताउता गर्‍यो र दाँत माझियो भनेर ठान्नेहरू नै बहुसंख्यक रहेको औंल्याउँदै डा. राजभण्डारी न्यूनतम दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्ने बताउँछन् । ब्रस गरेपछि जिब्रो सफा गर्न भने बिर्सनु हुँदैन । यसले मुखमा भएका किटाणुहरूको संख्यालाई कम गर्छ । डा. राजभण्डारी सामान्यतया धेरै कडा वा बढी नरम ब्रस उपयोग नगर्ने सल्लाह दिन्छन् । कडा ब्रसले दाँत खिइने र नरम ब्रसले दाँत राम्ररी सफा नहुने हुँदा सामान्य व्यक्तिले न नरम, न कडा अर्थात् मध्यम लचकता भएको ब्रस उपयोग गर्नुपर्छ । मुखमा अनुकूल हुने ब्रस प्रयोग गर्नुपर्छ । ब्रस गर्दा दाँत र गिजालाई नघोचिने गरी माझ्नुपर्छ ।

सबैभन्दा पहिले ब्रसलाई माथिल्लो दाँतअन्तर्गत गिजाको माथिल्लो भाग राखेर तल दाँततिर आउन दिने । यही प्रक्रिया दोहोर्‍याउने । यसले गिजामा रक्तसञ्चार हुनुका साथै दाँतलाई समेत बलियो बनाउँछ । यसपछि तल्लो दाँतअन्तर्गत तलको गिजाबाट ब्रसलाई माथि दाँतसम्म लिएर जाने । ब्रस तलमाथि गर्नु हुँदैन । दाँतको भित्री भागमा समेत यसैगरी सफा गर्नुपर्ने जनाउँदै डा.घिमिरे टोक्ने भागमा पनि ब्रसले अगाडि/पछाडि गरेर सफा गर्नुपर्ने उल्लेख गर्छन् ।

मनाइयो दिवस
मुख स्वास्थ्यबारे जानकारी गराउने उद्देश्यले राजधानीमा सोमबार ‘विश्व मुख स्वास्थ्य दिवस २०१७’ मनाइएको छ । ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ दिवस मनाइएको आयोजक नेपाल डेन्टल एसोसिएसनले जनाएको छ ।

विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको एसोसिएसनका अध्यक्ष डा. सुवास घिमिरेले बताए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले कोही पनि नेपाली दाँतको उपचार गर्न विदेश जानु नपर्नु देशका लागि गौरवको विषय भएको बताए ।

 

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्