१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नयाँ शक्तिका संयोजक भट्टराई भन्छन् - 'भारतमा नेपालबारे बुझाईको कमी देखियो'

कमलदेव भट्टराई

नयाँ दिल्ली — नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतमा नेपालाई बुझ्ने मामिलामा केही कमजोरी रहेको र त्यसलाई नहटाएसम्म दुई देशको सम्बन्ध ठिक दिशामा नजाने बताएका छन् ।

नयाँ शक्तिका संयोजक भट्टराई भन्छन् - 'भारतमा नेपालबारे बुझाईको कमी देखियो'



सात दिनको भारत भ्रमणको अन्तिम दिन 'नेपाललाई हेर्ने भारतीय दृष्ट्रिकोण कस्तो पाउनुभयो त ?' भन्ने प्रश्नमा भट्टराईले सो कुरा बताएका हुन् । अघिल्लो र अहिलेको पुस्तामा नेपालको बारेमा राम्रो बुझाई रहेपनि युवा पुस्तामा भने नेपाललाई हेर्ने दृष्ट्रिकोणमा कमजोरी रहेको बताए ।

उनले नेपाल र भारतकोबीचमा राजनीतिक तहमा नै संवाद, सहमति तथा सम्बन्धको विकास आवश्यक भएको बताए । उनले केही वर्षयता दुवै देशको राजनीति नयाँ युगमा दुईपक्षीय सम्बन्धलाई पनि त्यही ढंगले पुनर्संरचना गर्न आवश्यक भएको बताए ।

उनले दुई देशको वास्तविक चासोको विषयमा उच्च राजनीतिक तहमा वार्ता हुनुपर्ने र त्यसमा सहमति गरेर अगाडि जानुपर्ने बताए । उनले भारतले नेपालमा 'माइक्रोम्यानेज' गर्नेतर्फ लाग्न नहुने बताए । उनले आफ्नो सात दिनको बसाईंको क्रममा दुई देशबीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल एवं बहस गरेको बताए । उनले दुई देशबीचमा रहेको समस्याहरु समाधान गर्नका लागि छलफल हुनुपर्ने बताए ।

भ्रमणको अघिल्लो दिन भट्टराईले पूर्व कुटनितिज्ञ, राजनीतिक, पत्रकार तथा अन्य क्षेत्रका व्यक्तिहरुसँग नेपाल र भारतको सम्बन्धबारेमा डिनर बैठकको आयोजना गरेका थिए । सो बैठकले भट्टराई दुई देशकोबीचमा खुला छलफल आवश्यक रहेको बताए । सात दिन दिल्लीमा रहँदा भट्टराई पार्टीको दुईवटा कार्यक्रममा सहभागी भए । पार्टीको प्रवासी संगठनले दिल्लीमा र गोवामा कार्यक्रमको आयोजना गरेको थियो । सोमवार दिल्लीमा अन्तर्राष्ट्रिय नेपाली समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले संविधान संशोधन गरेर मधेसवादी दलहरुको माग पुरा गरी निर्वाचनमा जानुपर्ने बताए । उनले आफ्नो अडानलाई निर्वाचन विरोधी अडानको रुपमा नबुझिदिनको लागि समेत आग्रह गरे ।

उनले नेपालको स्वाधीनताको रक्षा गर्न र विकास र समृद्धि हासिल गर्नका लागि हामीले दुई छिमेकी देश चीन र भारतसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने बताउादै नेपाल दुई देशबीच गतिशील पुल बनेर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।

भट्टराइले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्तो पछिल्ला राजनीतिक उपलब्धिहरु भारतकेन्द्रीत भएको आरोपको कडा रुपमा प्रतिवाद गर्दै प्रश्न गरे, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबै भारतले ल्याइदिएको हो भने नेपालीले ल्याएको के हो ?’ ‘यी सबै हाम्रा एजेण्डा हुन् । हामीले नै वर्षौंसम्म निरंकुशताका विरुद्ध लडेर हासिल गरेका उपलब्धिहरु हुन् ।’

घरभित्रको झगडा घरमै मिलाउन नसक्दा आफ्नै पल्लो घरको छिमेकीले हेप्ने भएकाले जसरी परिवारको झगडा समझदारीपूर्ण तरिकाले समाधान गरिन्छ राज्यभित्रको झगडा पनि त्यसैगरी समाधान गर्ने पर्ने उनले धारणा राखे ।

नयाँ शक्ति पार्टीले हिमाल, पहाड, तराई र मधेसलाई जोडेर राष्ट्रिय एकता निर्माण गर्ने बताउँदै उनले यही चैत ९ गतेबाट हिमाल, पहाड, तराई, मधेस जोड्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७३ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?