कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्री दाहाल हैनानमा, थाङ्का प्रदर्शनीको अवलोकन

यस्तो छ, प्रधानमन्त्रीको चीनका कार्यक्रम

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल बोआओमा सम्मेलनमा भाग लिन शुक्रबार बिहान हैनान प्रान्त पुगेका छन् । उनले त्यहाँ भइरहेको थान्का प्रर्दशनीको अवलोकन गरेको प्रधानमन्त्री दाहालको वेवसाइट डब्लुडब्लुडब्लु डट सीएमप्रचण्ड डट कमले उल्लेख गरेको छ ।

प्रधानमन्त्री दाहाल हैनानमा, थाङ्का प्रदर्शनीको अवलोकन

चीन भ्रमणका क्रममा दाहालले शुक्रबार दिउसो गौतम बुद्धको जीवन दर्शनमा आधारित थान्का प्रर्दशनीको अवलोकन गरेका हुन् । आजै उनले आफु बसेको स्टेट गेष्ट हाउसमा चिनियाँ उपप्रधानमन्त्री झाङ गाउलीलसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बोआओसम्मेलन सकेपछि उनी चिनियाँ राष्ट्रपतिलगायतका अधिकारीहरुस‌ँग भेटबार्ताका लागि बेइजिङ जाने छन् ।

दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनतर्फ प्रस्थान गरेका हुन् ।

राससका अनुसार प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित थिए ।

प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन गएका हुन् । १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने छन् । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : चैत्र ११, २०७३ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?