कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

चाँगुनारायण नगरपालिकामा दुई कार्यकारी अधिकृत

दुवै कार्यकारीको नाम देखेपछि सेवाग्राही कुन कार्यकारीमार्फत काम गर्ने भन्दै थप अन्योलमा परेका छन्

भक्तपुर — जिल्लाको चाँगुनारायण नगरपालिकामा दुई कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन् । मन्त्रिपरिषद्को फागुन २२ को निर्णयअनुसार स्थानीय तहको पुन:संरचना लागू भएलगत्तै साबिक नगरकोट र चाँगुनारायण नगरपालिका गाभिएर ‘चाँगुनारायण नगरपालिका’ बनेको हो ।

चाँगुनारायण नगरपालिकामा दुई कार्यकारी अधिकृत

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले साबिक चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसाललाई स्थानीय तह पुन:संरचना सार्वजनिक भएपछिको नयाँ चाँगुनारायण नगरपालिकामा सरुवा गर्‍यो ।

साबिक नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीलाई भने महोत्तरीको बर्दिवास नगरपालिकामा सरुवा गरेको थियो । स्थानीय तहमा सरुवा भएका कार्यकारीहरूलाई खटाएको स्थानमा तत्काल जान मन्त्रालयले निर्देशन दिए पनि कार्कीले अटेर गरेर बसेपछि नगरपालिकामा दुई कार्यकारी भएका हुन् ।

वरिष्ठताको आधारमा आफू चाँगुनारायण नगरपालिकामै हुनुपर्ने अडान राखेर कार्कीले सरुवा लिन मानेका छैनन् । उनले मन्त्रालयमा पुनर्मूल्यांकन गर्न आवेदन दिएका थिए । मन्त्रालयले पुन: चैत ९ मा कार्कीलाई सिराहाको मिर्चैया नगरपालिकामा सरुवा गरेको थियो ।

रमाना लिएर चाँगुनारायण नगरपालिकामा हाजिर हुन आएका भुसाललाई भने कार्कीले हाजिर हुन दिएका छैनन् । ‘चाँगुनारायण नगरपालिकाको रमाना लिएर आएको छु, हाजिर गर्न पाएको छैन,’ भुसालले भने, ‘साबिक नगरपालिकाकै हाजिर कापीमा हाजिर गर्दै आएको छु ।’ ‘सरकारले खटाएको ठाउँमा जानुपर्ने कर्मचारीको दायित्व हुन्छ,’ उनले भने ।

खरिपाटीस्थित चाँगुनारायण नगरपालिकाको कार्यालय भवनको दोस्रो तल्लामा कार्कीले कार्यालय चलाएका छन् भने तेस्रो तल्लामा भुसालले कार्यालय स्थापना गरेको एक कर्मचारीले बताए । दुवै कार्यकारी अधिकृतको नाम अंकित बोर्ड (प्लेट) भने दोस्रो तल्लास्थित कार्यकारी अधिकृतको कार्यकक्षको ढोकामा झुन्ड्याइएको छ ।

कार्यालयको कार्यकारी कक्षमा दुवै कार्यकारीको नाम देखेपछि सेवाग्राही कुन कार्यकारीमार्फत काम गर्ने भन्दै थप अन्योलमा परेका छन् । ‘नक्सापासका लागि आएको, कुन कार्यकारीमार्फत काम गर्ने भन्ने अन्यौल भयो,’ चाँगुनारायण–७, खरिपाटीका गोपालप्रसाद तिमल्सिनाले भने, ‘कार्यालयमा दुई हाकिम छन्, सेवाग्राहीको काम भएको छैन ।’

साबिक नगरकोट नगरपालिकाका कर्मचारीले सेवाग्राहीको काम कार्कीको टेबुलमा लैजाने र चाँगुनारायण नगरपालिकाका कर्मचारीले भुसालको टेबुलमा सेवाग्राहीको काम लैजाने गरेका छन् । नगरपालिकाको कार्यालयमा दुई हाकिम हुँदा कर्मचारी दोधारमा परेको र एकलाई तोक लगाउँदा अर्को हाकिम रिसाउने समेत गरेका छन् ।
कर्मचारीहरूले भुसालले कार्कीले रमाना पत्र बनाउन कर्मचारीलाई भन्ने तर कार्कीले रमाना पत्र बनाउन नदिने हुँदा कर्मचारीमै विवाद आएको गुनासो छ ।

प्रकाशित : चैत्र २३, २०७३ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?