कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा आमरण अनसन

भरत जर्घामगर

सिरहा — सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले बुधबार दिउँसोबाट गाउँपालिका कार्यालयको मुख्य गेटमा आमरण अनसन सुरु गरेको छ ।

सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा आमरण अनसन

सुखीपुरलाई नगरपालिका कायम गर्न माग गर्दै संघर्ष समितिका संयोजक बिपीभुवन यादवको नेतृत्वमा रामभरोस साह, हरेराम यादव, रामकिसुन यादव, श्याम कुमार यादव र विन्देश्वर पञ्जियार आमरण अनसनमा बसेका हुन् ।

सरकारले २०७२ असोज १ गतेको निर्णयबाट मोहनपुर, कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरवा पछवारी लगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । सरकारले पछिल्लो पटक गाउँपालिका निर्माण गर्ने क्रममा सुखीपुर नगरपालिकालाई गाउँपालिका निर्णय गरेलगतै सुखीपुरवासी सरकारी निर्णयको विरोधमा उत्रिएका थिए ।

उनीहरुले फागुन २९ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरी विरोध र्‍याली, राजमार्ग अवरोध, अनिश्चितकालीन धर्ना लगायत संघर्षका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनुवाई नगरेको भन्दै बुधबारबाट आमरण अनसन सुरु गर्न बाध्य भएको नगरपालिका बचाउ संघर्ष समितिका संयोजक विपीभुवन यादवले बताए ।

सरकारले स्थानीय तहको नयाँ संरचना अनुसार सिरहामा ६ नगरपालिका र ११ गाउँपालिका कायम गरिएको छ । लहान, सिरहा, गोलबजार, मिर्चैया, कल्याणपुर र धनगढीमाई गरी ६ वटा नगरपालिका कायम गरेको छ । यसअघि कल्याणपुर गाविस थियो । स्थानीय तह नयाँ संरचना अनुसार कर्जन्हा, सुखीपुर, लक्ष्मीपुर पतारी, बरियारपट्टी, औरही, अर्नामा, भगवानपुर, नरहा, नवराजपुर, सखुवानन्कारकट्टी र विष्णुपुर गरी ११ गाउँ पालिका कायम गरिएको छ ।

प्रकाशित : चैत्र २३, २०७३ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?