नयाँ वर्षमा मात्रै फूल्ने भनिएको सुनाखरी ५ दिन अघि नै फूल्यो

फूलबारी मेला : जहाँ विवाह गरे दाम्पत्य जीवन सफल हुने विश्वास छ
भरत जर्घामगर

सिरहा — चौधौं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहाको लहान नगरपालिका २२ स्थित ऐतिहासिक स्थल फूलबारीमा शुक्रबार भव्य मेला लागेको छ । नववर्षको दिन लाग्दै आएको मेला भर्न सिरहा, सप्तरी, उदयपुर, धनुषा र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने क्रम बढेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

नयाँ वर्षमा मात्रै फूल्ने भनिएको सुनाखरी ५ दिन अघि नै फूल्यो

वि.स. १३२५ मा प्रतापी राजा सलहेश र उनकी प्रेमी मालिनीबीचको प्रेम विवाहको लागि प्रसिद्ध सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास रहिआएको छ । चुरे क्षेत्रमा हराउँदै गएका वनस्पति समेत यो क्षेत्रमा छन् ।

मन्दिरमा हात्तिमा चढेको सलहेस र दिना मालिनीको मूर्ती छ । प्रत्येक वर्ष वैशाख १ गते फुलवारीमा लाग्ने मेला भर्न आउने धर्मालम्बीहरु फूल फूल्ने रुखलाई समेत पूजा गर्छन् ।

सेतो सुनाखरीको फूल वैशाख १ गतेमात्र फुल्ने र त्यही फूलको माला बनाई मालिनीले सलहेसलाई लगाइदिएको किम्बदन्ती छ ।

यहाँका लोकनाचहरुमा राजा सलहेशको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरिएको पाइन्छ । मिथिला संस्कृतिका लोकगाथाका नायकहरुमा सलहेसको नाम अग्रणी छ । मिथिला समाजमा सलहेसको गाथा गीत तथा नृत्यहरु प्रशस्त छन् । व्यापारीक केन्द्र लहान बजारदेखि चार किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गअन्तर्गत भोटिया टोल चौंकदेखि दक्षिणमा अवस्थित ऐतिहासिक तथा धार्मिक फूलबारीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट फुलवारीको अवलोकन गर्न आगन्तुकहरु आइरहन्छन ।

नयाँ वर्षको वैशाख १ गतेमात्र माला आकारको फूल फुल्ने जनविश्वास रहँदै आएको लहान नगरपालिका–२२ स्थित ऐतिहासिक, धार्मिक स्थल फूलबारीमा यसवर्ष पाँच दिनअघि नै फक्रिएको छ । फूलबारीमा प्रत्येक नयाँ वर्षका दिनमात्र उक्त फूल फुल्ने धार्मिक विश्वास थियो ।

फूलबारीको मध्यभागमा रहेको मन्दिर नजिकको दुई हारमको बोटमा पाँचदिन अघि सुनाखरी फुलेको थियो । मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार अरु वर्ष नव वर्षको एकदिन अघिसम्म कोपिला मात्रै देखिन्थ्यो र नववर्षको दिन माला आकारमा ढकमक्क फक्रिन्थ्यो ।

विज्ञका अनुसार नेपालमा आठ थरी सुनाखरी पाइन्छ । वनस्पति विभागले हालै गरेको अनुसन्धानका अनुसार, मालिनीको मालाको रुपमा फुल्ने उक्त फूल चाँदीगाभा सुनाखरी प्रजाती हो । जुन १ हजार ५ सय मिटरसम्मको उचाईमा पाइन्छ । यसको काण्डबाट विभिन्न किसीमको शक्तिवर्धक र कोषीय अंगको वृद्धि हुने खालका औषधीहरु बनाइन्छन् ।

प्रकाशित : वैशाख १, २०७४ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?