१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेइजिङमा नेपाली नयाँ वर्ष

चेतनाथ आचार्य

बेइजिङ — नेपाली नयाँ वर्ष २०७४ अवसरमा बेइजिङस्थित नेपाली दूतावासले शनिबार अपरान्ह एक भव्य समारोहको आयोजना गरेको छ । बेइजिङमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र बेइजिङमा विभिन्न व्यवसाय गरेर बसिरहेका नेपालीहरु गरी चार सयको हाराहारीहारीमा नेपालीहरुको उपस्थिति रहेको नयाँ वर्षको कार्यक्रममा झन्डै एक सयजति चिनियाँहरुको पनि उपस्थिति रहेको थियो ।

बेइजिङमा नेपाली नयाँ वर्ष

नेपाली नयाँ वर्ष २०७४ अवसरमा बेइजिङस्थित नेपाली दूतावासले शनिबार अपरान्ह एक भव्य समारोहको आयोजना गरेको छ ।

बेइजिङमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र बेइजिङमा विभिन्न व्यवसाय गरेर बसिरहेका नेपालीहरु गरी चार सयको हाराहारीहारीमा नेपालीहरुको उपस्थिति रहेको नयाँ वर्षको कार्यक्रममा झन्डै एक सयजति चिनियाँहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाली दूतावासको प्राङ्गणमा आयोजित समारोहमा चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली गीत र नृत्यसँगै चिनियाँ गीत पनि गाएका थिए । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँहरुले नेपाली पोशाक लगाएर नेपाली गीतमा गरेको नृत्यले दर्शकहरुको ध्यान खिचेको थियो ।

चीन भ्रमणमा आएका नेपालका उर्जा राज्यमन्त्री सत्यनारायण भगतले चीनमा आएर नेपाली र चिनियाँलाई नयाँ वर्षको शुभकामना दिन पाउँदा खुशी लागेको बताए । उनले नेपालको उर्जा विकासमा चिनियाँ सहयोग र लगानीको प्रशंसा पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपाल र चीनबीचमा सांस्कृतिक आदानप्रदान बढाउनका लागि नेपाली नयाँ वर्ष मनाउने कार्यक्रमको आयोजना गरिएको बताए । उनले बेइजिङमा रहेका प्राय सबै नेपालीको उपस्थिति रहेको र नेपाललाई माया गर्ने चिनियाँहरुको पनि उल्लेख्य उपस्थिति रहेकोमा आफूलाई खुशी लागेको बताउँदै सबैलाई नयाँ वर्ष २०७४ को शुभकामना व्यक्त गरे ।

कार्यक्रममा चिनियाँ नेता लिउ छुन ह्वाले पनि सम्बोधन गरेका थिए । नेपाली नयाँ वर्षको अवसरमा शुभकामना दिन पाउँदा आफूलाई खुशी लागेको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका सदस्य लिउ छुन ह्वाले बताए । गत वर्ष आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले एक चीनको नीतिमा नेपालले पुर्‍याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गरे ।

नेपाल र चीनबीचमा युगौँदेखि सुमधुर सम्बन्ध रहँदै आएको र दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई यस प्रकारका कार्यक्रमले सघाउ पुर्‍याउने विचार व्यक्त गरे । कार्यक्रममा चीनको सरकारी निकायका उच्च अधिकारीहरु, नेपालका लागि पूर्व चिनियाँ राजदूतहरु, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु लगायतका एक सयजना चिनियाँको उपस्थिति थियो ।

नेपाली दूतावासले आयोजना गरेको नयाँ वर्षको कार्यक्रमको व्यवस्थापनमा नेपाल चीन संवाद तथा विकास मन्चले सहयोग गरेको थियो । नेपाल चीन संवाद तथा विकास मन्च चीनमा बसोबास गरेका नेपालीहरुले स्थापना गरेको संस्था हो ।

मन्चका अध्यक्ष डा प्रकाश अधिकारीले नयाँ वर्षको शुभकामना दिँदै नेपालको विकासमा चिनियाँ पूँजी र प्रविधिले मेरुदण्डको काम गरेको बताए । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममा नेपालले चाँडै हस्ताक्षर गर्नुपर्ने बताउँदै डा अधिकारीले दुवै देशबीचको आपसी सम्पर्क संजाल बढाउनु पर्ने कुरामा जोड दिए ।

काठमाडौँस्थित चिनियाँ दूतावासले हरेक चिनियाँ नयाँ वर्षमा शुभकामना कार्यक्रमको आयोजना गर्ने भए पनि नेपाली दूतावास बेइजिङले नेपाली नयाँ वर्षका अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको यो पहिलोपटक हो । बेइजिङमा मात्र नभएर नेपाल बाहिर नेपाली नियोगले नयाँ वर्षका अवसरमा यस्तो वृहत कार्यक्रम आयोजना गरेको यो नै पहिलो भएको दूतावासका काउन्सिलर मिनिष्टर हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई बताए ।

बैशाख १ गते शुक्रबार परेकाले सबै सहभागी होउन् भनी २ गते शनिबार कार्यक्रम आयोजना गर्नु परेको उनले स्पष्ट पारे । कार्यक्रममा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालय र बेइजिङ नर्मल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विभिन्न नेपाली नृत्य र गीत प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिमा नेपालका सबै क्षेत्र र जाति समेटिएको थियो भने कार्यक्रममा हाँस्यव्यंग्य क्यारिकेचर पनि प्रस्तुत गरिएको थियो ।


प्रकाशित : वैशाख २, २०७४ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?