सुतेकै ठाउँबाट डेढ वर्षीय बालक बेपत्ता

धादिङ — राति आमाबाबुसँगै सुतेका डेढ वर्षीय बालक बुद्धिलाल चेपाङ बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका– ३ बागुराङमा यस्तो घटना भएपछि स्थानीय चकित भएका छन् ।

घर भूकम्पले भत्काएको कारण चेपाङ परिवार टहरामै रात बिताउँदै आएको थियो । आमाबुवासँगै सुतेका बालक हराएपछि परिवारजन चिन्तित छन् ।

बालक बुद्धिलाल सोमबहादुर चेपाङ र मनमाया चेपाङका कान्छा छोरा हुन् । जेठो छोरा ३ वर्षका छन् । दुवै छोरा आमाबुबासँगै सुतेका थिए ।

‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टी सुताएको थिएँ’, सोमबहादुरले भने, ‘बिहान २ बजे ब्यूँझिदासानो छोरा ओछ्यानमा थिएन ।’ आफनै काखमा सुताएको छोरा एकाएक हराएपछि आमा मनमाया अचेत जस्तै बनेकी छन् ।

डेढ वर्षीय वालक वुद्धिलाल राम्रोसंग हिडडुल गर्न समेत नसक्ने भएकोले आमाबुबा निद्रामा भएको बेला बच्चा चोरी भएको वा वन्यजन्तुले लिएको हुन सक्ने अनुमान गाउँलेहरूले लगाएका छन् ।

बालक हराएपछि रातिदेखि नै गाउँलेहरुले खोजी गरिरहेका छन् । घटनाको अनुसन्धान गर्न प्रहरी चौकी ताल्तीबाट प्रहरीको टोली गाउँँ पुगेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहले बताए ।

प्रकाशित : वैशाख ४, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?