राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी : परराष्ट्रमन्त्री महत

भारत सरकारले राष्ट्रपतिलाई दिएको सम्मानमा कुनै कमी नभएको प्रस्टोक्ति

काठमाडौं — परराष्ट्रमन्त्री प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी : परराष्ट्रमन्त्री महत

राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहेका मन्त्री महतले बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, 'दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।' भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री महतले दिए । 'उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ' डा महतले भने ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गरेको भन्नेबारेको पत्रकारको जिज्ञासमा मन्त्री महतले नेपालका राष्ट्रपतिलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको स्पष्ट गरे । उनले भने– 'नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।” हामीले यस्तो अनर विमानस्थलमै दिने गरेकाले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति पनि उपस्थित हुनुभएको मन्त्री महतले स्पष्ट गरे ।

राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मङ्गलबार रातिसम्म सम्पन्न भएपछि मन्त्री महत बुधबार स्वदेश फर्किएका उनका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले विज्ञप्तिमार्फत जानकारी दिए ।

नयाँ दिल्लीमा रहँदा राष्ट्रपति भण्डारी तथा भ्रमण दलमा सहभागी अन्य उच्च अधिकारीलाई भारतको राष्ट्रपति भवनमा आतिथ्यता प्रदान गरिएको छ । भारतको शिष्टाचार प्रचलनअनुसार मङ्गलबार बिहान राष्ट्रपति भवनको फोरकोर्टमा भारतका राष्ट्रपति मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीलाई औपचारिक स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले उनलाई प्रदान गरिएको गार्ड अफ अनरको अवलोकन गरे ।

भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भारत सरकारको वरिष्ठ मन्त्रिगणसँग भेटघाट तथा सौहार्द्रपूर्ण कुराकानी भएको मन्त्री महतले जानकारी दिए ।

त्यसैगरी मङ्गलबार साँझ नेपालका राष्ट्रपतिको सम्मानमा भारतका राष्ट्रपतिले राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गरेका थिए । त्यस क्रममा पनि भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिगण तथा विभिन्न राजनीतिक दलका नेताको सहभागिता थियो ।

प्रकाशित : वैशाख ६, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?