कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रमुख कार्यकारी अधिकृतमा सम्भव स्वाँर सिरोहिया

काठमाडौं — कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सम्भव स्वाँर सिरोहिया नियुक्त भएका छन् । यसअघि कान्तिपुर टेलिभिजन नेटवर्क र कान्तिपुर डिजिटल कोर्प (केडीसी) को सीईओ रहेका स्वाँर सिरोहियालाई कान्तिपुर पब्लिकेसन्स र रेडियो कान्तिपुरसमेत हेर्ने गरी ‘ग्रुप सीईओ’ नियुक्त गर्ने निर्णय सञ्चालक समितिले लिएको हो ।

प्रमुख कार्यकारी अधिकृतमा सम्भव स्वाँर सिरोहिया

कान्तिपुर मिडिया ग्रुपको चौथो सदस्यका रूपमा सन् २०१३ मा स्थापित केडीसीको संस्थापक सीईओ रहेका स्वाँर सिरोहियाले उक्त कम्पनीमार्फत कान्तिपुरसम्बद्ध प्रकाशनहरूको डिजिटल विस्तारमा व्यवस्थापकीय नेतृत्व गरेका थिए । केडीसी हाल नेपालको सबभन्दा ठूलो डिजिटल मिडिया कम्पनी बन्न सफल भएको छ । शतप्रतिशत ट्राफिक विस्तार गर्न सफल केडीसीले छोटो अवधिमै ५ हजार प्रतिशत राजस्व वृद्धि गरेको जनाएको छ । केडीसीअन्तर्गत ६ वटा सब–ब्रान्डहरू छन्, जसले गुणस्तरीय सामग्रीहरू संसारभरि प्रवाह गरिरहेका छन् ।

स्वाँर सिरोहिया कान्तिपुर टेलिभिजनको सीईओमा अघिल्लो वर्ष नियुक्त भएका थिए । उनको नेतृत्वमा टेलिभिजन महत्त्वपूर्ण रूपान्तरणमा गइरहेको छ ।

यसलाई चाँडै ‘कम्प्लिट रिप्याकेजिङ’ र ‘रिब्रान्डिङ’ सहित एचडी ट्रान्समिसनमा लगिँदै छ । उनी सन् २०१६ मा स्थापित मुभर्स एन्ड सेकर्स (एमएनएस) होल्डिङ्सका संस्थापक पनि हुन् । त्यसअन्तर्गत डिजिटल भिडियो म्यागेजिन, पर्यटन, व्यापारिक उत्प्रेरणा, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘पोर्टफोलियो म्यानेजमेन्ट’सँग सम्बन्धित ५ वटा कम्पनी सञ्चालित छन् ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि स्वाँर सिरोहियाले आफूले यो जिम्मेवारीलाई गहनतम् रूपमा लिएको बताए । ‘कान्तिपुरले स्थापनाकालदेखि नै व्यापारिक लाभभन्दा जनउत्तरदायी र जिम्मेवारपूर्ण चौथो अंगका रूपमा आफ्नो गरिमा बनाइआएको छ । त्यो सदा कायम रहनेछ,’ उनले भने, ‘प्रत्येक वर्ष कान्तिपुरका पाठक, श्रोता र दर्शक वृद्धि भइरहेका छन् । पत्रिकाको छपाइ परिमाण हालसम्मकै उच्चतम् विन्दुमा पुगेको छ र अझ विस्तार भइरहेको छ । डिजिटल पहुँच धेरै गुणा बढेको छ । कान्तिपुर मिडिया ग्रुप स्मार्ट अफिससहित महत्त्वपूर्ण रूपान्तरणमा गएको छ । हाम्रा सहकर्मी, पाठक र विज्ञापनदाताका लागि अझ बढ्ता प्रभावकारी उपलब्धिहरू प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित : वैशाख ७, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?