‘प्रचण्डले इतिहासको कठघरामा उभिनुपर्नेछ’

महेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकाय निर्वाचन खारेजीको माग गर्दै आहवान गरेको जनसभा प्रहरी प्रशासनले बल प्रयोग गरी रोक्नुलाई संविधानमा व्यवस्था भएको मौलिक हकविपरीत भएको ठहर गर्दै विरोध जनाएको छ । पार्टीले जनसभामाथिको हस्तक्षेपलाई जनआन्दोलनबाट प्राप्त अधिकार कटौती हुँदै गएको रूपमा लिएको जनाएको छ ।

‘स्थानीय चुनाव खारेज गर्नुपर्छ, यही कुरा जनतालाई बुझाउन हामीले सभा गर्न लागेका थियौं,’ बुधबार महेन्द्रनगरमा पार्टीको महाकाली ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता खडग विश्वकर्मा ‘प्रकाण्ड’ ले भने, ‘हाम्रा विचार राख्ने कुराले सरकार खासगरी प्रचण्ड आतंकित हुनुभयो र निरंकुशता प्रदर्शन गरी बल प्रयोग गरेर सभा रोक्नुभयो ।’ उनले भने, ‘यस्तो हरकत राज्यले गर्न हुँदैन, प्रचण्डले यस्तो काम गर्न थालेकाले इतिहासको कठघरामा उभिनुपर्ने अवस्था आउनेछ ।’

आफ्नो पार्टीका विचार राख्ने कुराप्रति सरकारमा रहेकाहरू आतंकिक हुन पुगेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले भने, ‘यस्तो हरकत रोक्नुपर्छ नत्र प्रतिवाद हुन्छ ।’ स्थानीय चुनाव खारेज नै हुनु पर्ने जिकिर गर्दै उनले सेना लगाएर पनि चुनाव गरी छोडछु भन्नु निरंकुश सोच भएको बताए । उनले सभा गर्न खोज्दा बल प्रयोग गरेर रोक्न खोज्ने, बाधा अडचन नहोस् भन्ने चेतावनी दिए । ‘दमन गरेर, हत्या आतंक मच्याएर पछि हटाउन सकिँदैन,’ उनले भने, ‘मुठभेडको स्थिति नआवस् भनेर हिजोका सभामा हामी नै पछि हटेका हौं, बल प्रयोग र शक्ति प्रयोग गर्नु हुन्छ भने हामी आम नेपालीलाई सशस्त्र शक्तिमा बदल्नेछौं ।’
पछिल्लो दिनमा देशको स्थिति राम्रो नभएको उल्लेख गर्दै उनले संविधानभित्रकै अधिकार प्राप्त कार्यक्रममा पनि रोक लगाइने जस्ता काम हुन थालेको बताए । ‘संविधानको मौलिक हकविपरीत हुने बल प्रयोगलाई इतिहासले मूल्यांकन गर्नेछ,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?