कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

दुई चरण चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले डाके मोर्चा नेताहरु

बसन्त बस्नेत

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराई/मधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे छलफल गर्ने भएका छन् ।

दुई चरण चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले डाके मोर्चा नेताहरु

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (शुक्रबार) बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराई/मधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीका एक सहयोगीका अनुसार भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री र मोर्चाबीचको छलफल बालुवाटारमा हुनेछ ।

मोर्चा सम्बद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले वार्ताका लागि आफूलाई खबर आएको पुष्टि गरे । उनले भने, 'तराई/मधेसको निर्वचानबारे के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाउनुभएको मैले जानकारी पाएँ, संविधान संशोधन नभइ मधेसमा चुनाव गर्न हामी सहमत छैनौं त्यसअनुसार वार्तामा जाने तयारी भइरहेको छ ।'

सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि मधेसी मोर्चा सहमतिबिना एकलौटी प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट छ । त्यसयता सरकार र मोर्चाबीच संवाद हुनसकेको छैन । संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्नै माग राख्दै मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि नै आन्दोलन थालेका छन् । यही वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन विथोल्ने नियतले मोर्चा/गठबन्धनले वैशाखभरको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको मुख्य पाँच दलको बैठकमा प्रधानमन्त्री दाहालले मधेसमा दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेका थिए । कांग्रेस, एमाले, माअोवादी केन्द्र, राप्रपा र नेपाल लोकतान्त्रिक फोरम सहभागी बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुले मधेसी मोर्चा चुनावमा सहभागी हुने ग्यारेन्टी भए मधेसमा दुई चरणमा चुनाव गर्न आफूहरु बाधक नबन्ने बताएका थिए ।

प्रकाशित : वैशाख ७, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?