कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कर्मचारी व्यवस्थापनमा समस्या

ललितपुर — ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छ । साविकको कार्यविनायक नगरपालिकाले आफ्नो मातहातका ३१ कर्मचारी व्यवस्थापन गर्न सिफारिस गरेपछि महानगरपालिकालाई व्यवस्थापनमा गाह्रो भएको हो । साविक ललितपुर उपमहानगरपालिकाका २० र २१ वडालाई जोडेर २०, ११ र १२ लाई गाभेर १२, १६ र १८ लाई गाभेर १६ बनाइएको छ । अहिले २१, ११ र १८ का वडा सचिव जगेडा छन् ।

महानगरपालिकाले जगेडा कर्मचारीलाई काम दिन सकेको छैन । केही करारमा नियुक्त भएका प्राविधिक पनि कामविहीन छन् । कर्मचारी व्यवस्थापन हुन नसक्दा साविकको कार्यविनायक नगरपालिकाका भूकम्प पीडितले घर बनाउन नक्सा पासका लागि पेस गरेका झन्डै ४० वटा फाइल थन्किएका छन् । भूकम्पपीडितहरू नक्सा पासको काम रोकिँदा यसपालिको बर्खा पनि टहरामै बिताउन बाध्य हुनेमा चिन्तित बनेको भैंसेपाटीका शिवराम बानियाले बताए ।

ललितपुर महानगरपालिकाका प्रशासन प्रमुख बाबुराजा महर्जनले साविकको कार्यविनायक नगरपालिकाका ९ जना कर्मचारीलाई गोदावरी नगरपालिकामा पठाइएको बताए । ‘२२ जनालाई महानगरपालिकामा हाजिर गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । गोदावरी नगरपालिकामा भने कर्मचारी अभाव छ ।

स्थानीय विकास मन्त्रालयले माघमा आदेश जारी गरी कर्मचारी अपुग भएको नगरपालिकाले जिल्ला समन्वय समितिमा माग गर्न सक्ने व्यवस्था गरेको थियो । साथै जिल्लाभित्रका नगरपालिकाले प्रशासकीय प्रमुखबाहेक अन्य कर्मचारी माग भई आएमा जिल्ला समन्वय समिति अन्तर्गतका कर्मचारीलाई साविककै सेवा सुविधामा काजमा खटाउने सक्ने व्यवस्था मिलाए । स्थानीय विकास अधिकारी हेमराज भुषालले गोदावरी नगरपालिकाबाट माग नआएको बताए । ‘माग आएमा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारी काजमा खटाउन सकिन्छ,’ उनले भने, ‘महालक्ष्मी नगरपालिकामा चार जना कर्मचारी खटाएका छौं ।’ गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले कर्मचारी मागका लागि तयारी भइरहेको बताए । ‘अहिले भएका कर्मचारीलाई व्यवस्थापन गरेर चलाइरहेका छौं,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?