बालुवाटार बैठक निष्कर्ष : सहमतिको खाकासहित आजै अर्को वार्ता गर्ने

बसन्त बस्नेत

काठमाडौं — संविधान संशोधन र स्थानीय चुनावबारे टुंगो लगाउन सरकार र मधेसी मोर्चाबीच शुक्रबार बिहान बालुवाटारमा बसेको वार्ता भर्खरै सकिएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पार्टी एकता गर्ने नेताहरुलाई बधाई दिँदै अब वैशाख ३१ को स्थानीय चुनावमा भाग लिन आग्रह गरे ।

बालुवाटार बैठक निष्कर्ष : सहमतिको खाकासहित आजै अर्को वार्ता गर्ने

मधेसी नेताले धन्यवाद दिँदै संविधान संशोधनको मस्यौदा परिमार्जन र पारित गर्ने पूर्वसहमति सम्झाएपछि दाहालले आजै सत्ता घटकको बैठक बस्ने, त्यसपछि बेलुकी ५ बजे मोर्चासँग फेरि वार्ता गर्ने वचन दिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै सरकारद्वारा प्रस्तुत प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे । ‘आज तीन विषयमा केन्द्रित भएर वार्ता भयो, संशोधन विधेयकलाई परिमार्जन कसरी गर्ने, संशोधन विधेयक कसरी पारित गर्ने र चुनाव कसरी गर्ने,’ राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले कान्तिपुरसँग भने,‘सत्ता घटकको कुराकानीपछि हामीसँग आजै ५ बजे अर्को वार्ता गर्ने भन्दै बैठक सकियो ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षमान पुन, मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए ।

प्रकाशित : वैशाख ८, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?