अरुण नदी आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन प्रशासनको आग्रह

सेना तथा विपद्सम्बन्धी टोली घटनास्थलतर्फ जाँदै

धनकुटा — क्षेत्रीय प्रशासन कार्यालयले संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा अरुण नदी थुनिएपछि प्रभावित स्थानका सर्वसाधारणलाई सुरक्षित रहन सावधानी गराएको छ ।

अरुण नदी आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन प्रशासनको आग्रह

उक्त घटनाबाट विशेषगरी संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, सप्तरी जिल्लाका नदी किनार आसपासका स्थान प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित रहन सजक गराइएको क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दाहालले जानकारी दिए । सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई सजक रहन सूचना गरिएको दाहालले बताए ।

यसैगरी घटनास्थलको अवलोकनको लागि राजधानीबाट नेपाली सेना तथा सुरक्षा निकायको विपतसम्बन्धी विज्ञ टोली हेलिकप्टरबाट जाने भएको छ । उक्त टोलीले संखुवासभा सदरमुकाम खॉदबारी गएर थप उद्वारकर्ता लिएर घटनास्थल पुग्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

घटनास्थल संखुवासभा सदरमुकामबाट दुई दिन पैदल दूरीमा रहेकोले भौगोलिक अवस्थाको अवलोकनपछि विस्तृत जानकारी सार्वजनिक गरिने उपप्रशासक दाहालले बताए ।  

संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका संखुवासभा डिएसपी गौतमकुमार केसीले बताए। 

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए ।

    

प्रकाशित : वैशाख ८, २०७४ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?