अरुण नदी थुनिएपछि तराईका जिल्लामा उच्च सतर्कता

सप्तकोसी नदी आसपास माछा मार्न र गाईबस्तु चरनमा रोक
वेदराज पौडेल

इटहरी — अरुण नदी दुई दिनदेखि थुनिएपछि एक्कासी फुट्दा आउने बाढीले तराईका जिल्लामा बढी क्षति गर्ने भएकाले अहिले तराईका जिल्लामा कोसी किनारका स्थानीयलाई 'हाइ अलर्ट'मा रहन प्रशासनले उर्दी जारी गरेको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले अरुण नदीमा बनेको ताल फुटेर एक्कासी आउँदा हुने क्षति न्यूनिकरण गर्न कोसी किनारका स्थानीयलाई हाइ अलर्टमा रहन सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नदीको तटिय क्षेत्रका बासिन्दालाई चनाखो रहन र उद्धारका लागि स्थानीय तथा सुरक्षा निकायलाई एलर्ट रहन निर्देशन समेत दिएको छ । नदीको किनारमा माछा मार्न, गाईबस्तु चराउन र डुंगामा आवतजावत गर्न अनिश्चितकालका लागि रोक लगाएको छ ।

संखुवासभाको मोटखोला गाउँपालिकामा पर्ने अरुण नदीमा बिहीबार दिउँसोबाट ग्रेगरसहितको बाढीले अरुण नदीको बहाब रोकी झण्डै तीन किलोमिटरको कृतिम तलाउ बनेकोले त्यो फुट्दा हुनसक्ने विपत्ति न्यूनिकरणका लागि सुनसरी प्रशासनले हाइ अलर्ट सूचना जारी गरेको हो ।

नदी तटका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानको खोजी गर्न समेत दैवीप्रकोप उद्धार समितिले सुरक्षा निकायलाई आग्रह गरेको छ । चतरामा रहेको पानीको सतह नाप्ने रडार समेत बिग्रिएकोले तत्काल मर्मतका लागि जल तथा मौसम विज्ञान विभागमा जानकारी समेत गराइएको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?