कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहिलेको संशोधन झनै खतरनाक : ओली

‘संशोधन प्रस्तावको समर्थन गर्न सकिंदैन, सरकार ध्रुवे हात्ती जस्तो भयो’

काठमाडौं — एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले कुनै पनि हालतमा सरकारद्वारा प्रस्ताव गरिएको संविधान संशोधनको समर्थन गर्न नसिकने बताएका छन् । सोमबार संसदमा बोल्दै उनले अहिलेको प्रस्ताव विगतको भन्दा पनि खतरनाक रहेको उल्लेख गरे ।

अहिलेको संशोधन झनै खतरनाक : ओली

सरकारले मधेसवादी दलहरुस‌ंग दुई चरणमा निर्वाचन गराउने सहमति गरेपछि धेरैले एमालेले पनि यस प्रकृयामा साथ दिंदै नरम हुने अपेक्षा गरेएका थिए । सहमतिमा समर्थन खोज्दै आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष ओलीस‌ँग भेटसमेत गरेका थिए । तर, सोमबार संसदमा ओली थप कडा रुपमा प्रस्तुत भए ।

‘सिमांकन हेरफेरसहितको प्रस्ताव फिर्ता लिएर पछि हटेको भनि ठानेको सरकारले प्रदेशको अधिकार कटौती गर्ने गरी झन खतरानाक प्रस्ताव ल्यायो’ उनले भने, ‘अहिलेको सरकारले ल्याएको प्रस्ताव असंबैधानिक र राष्ट्रिय हित प्रतिकुल छ ।’

उनले स्थानीय तहका प्रतिनिधिले राष्ट्रिय सभाका सदस्य चुन्न पाउने अधिकार कटौती गरेकोमा विरोध गरे । संविधानले सिंहदरवारको अधिकार जनताको घर दैलोमा पुर्‍याउने परिकल्पना गरेको भएपनि प्रदेश सभा वा प्रदेश सरकारसम्म मात्र उक्त अधिकार पुर्‍याएर अर्को सिंहदरवारहरु खडा गर्न प्रपञ्चमा सरकार लागेको आरोप उनले लगाए ।

उनले सरकारले निर्वाचनको वातावरण बनाउन सहमति नगरेको पनि बताए । ‘सरकारले निर्वाचनको वातावरण बनाउनका लाथि सहमति गरेको भए, प्रतिपक्षको बेवास्ता गरेर त्यस्तो खालको प्रस्ताव ल्याउने थिएन’ उनले भने, ‘यो प्रस्तावको हामी समर्थन गर्न सक्दैनौं ।’

उनले संविधान संशोधन जति वेला मन लाग्यो त्यति वेला जेमा मन लाग्यो त्यसैमा गर्ने विषय नभएको पनि बताए । रुपान्तरित संसदको काम निर्वाचन कानुन निर्माण गरी नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु रहेको उल्लेख गर्दै त्य प्रकृयामा बाधा भएमात्र संविधान संशोधन गर्न सकिने उल्लेख गरे ।

सरकार र मधेसी मोर्चाबीच भएको निर्वाचन दुई चरणमा गर्न भएको सहमतिको पनि उनले बिरोध गरे । उनले दोस्रो चरणको निर्वाचन भन्दा अगाडी बजेट ल्याउने कुरा निर्वाचन आचार संहिताविरुद्ध रहेको र जेठ १५ मा आउनु पर्ने बजेटको समय सार्नु पनि गलत हुने बताए ।

सरकार ध्रुवे हात्ती भयो

एमाले अध्यक्ष ओलीले डीआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर गरिएको सोधपुछको पनि विरोध गरे । ‘एउटा डिआइजी जस्तो मान्छेलाई विना आरोप, विना पूर्जी पक्राउ गर्छ भने जनताको अवस्था के होला ?’ उनले भने, ‘सरकारले ध्रुवे हात्ती जस्तो भयो ।’ ध्रुवे केही बर्ष अघि चितवनमा वितण्ड मच्चाउने हात्तीको नाम हो ।

प्रकाशित : वैशाख ११, २०७४ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?