अमेरिकी प्रतिपक्षी नेता नेपाल आउँदै

‘अमेरिकाको रणनीतिक चासोमा नेपाल’
चन्द्रशेखर अधिकारी

काठमाडौं — अमेरिकी संसद् (हाउस अफ रिप्रेजेन्टेटिभ) का प्रमुख प्रतिपक्ष दलकी नेत्री (माइनोरिटी लिडर) नान्सी पेट्रोसिया पेलोसीको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउने भएको छ ।

अमेरिकी प्रतिपक्षी नेता नेपाल आउँदै

महिलातर्फबाट संसद्को उच्च तह तथा स्पिकर (सभामुख) भइसेकेकी डेमोक्रयाटिक लिडर नान्सी अमेरिकी एयरफोर्सको विशेष चार्टर विमानमा नेपाल आउने जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले दिएको छ । उनी तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुग्नेछिन् ।

सुरक्षाको कारण देखाउँदै अमेरिकीहरूले यस्तो भ्रमणलाई गोप्य राख्ने गरे पनि उनीहरूले आफ्ना निकटस्थलाई छलफल र भेटघाटको निमन्त्रणा गरिसकेका छन् । कंग्रेसमा डेमोक्रयाटिकको बहुमत रहँदा नान्सी सभामुख (मेजोरिटी लिडर) थिइन् । गत निर्वाचनपछि डेमोक्रयाट्सहरू माइनोरेटीमा परेलगत्तै उनी माइनोरिटी लिडर भएकी हुन् ।

नान्सी नेतृत्वको टोलीले नेपालका तीन प्रमुख पद राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला नेतृत्व रहेकाले नेपाल भ्रमणको तयारी गरेको हो । नान्सी नेपाल नआइपुग्दै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । नेपालमा स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढेको, भूकम्पपछिको पुनर्निर्माण, मानवअधिकार, न्यायिक क्षेत्र, दुईपक्षीय सम्बन्धलगायत विषयमा उनले विभिन्न राजनीतिक दलका नेता तथा उच्च नेतृत्वसँग छलफल गर्ने जानकारी स्रोतले दिएको छ ।

न्यान्सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीलगायतसँग भेटवार्ता गर्नेछिन् ।

उनले भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिनुका साथै केही स्थानमा स्थलगत अवलोकन गर्ने समेत स्रोतले उल्लेख गरेको छ । उनी पाटन, वसन्तपुर र भक्तपुरमध्ये कुनै दुई भूकम्पले क्षतिग्रस्त सम्पदास्थल पुग्ने तयारी छ । उनको टोलीमा नेपालप्रति चासो राख्ने सांसद छन् ।

उनीहरूसँग केही एयरफोर्सका अधिकारी पनि नेपाल आउनेछन् । जर्मन संसदका उपाध्याक्ष (उपसभामुख) र दुई अमेरिकी सिनेटरले नेपाल भ्रमण गरेर फर्केको तीन सातापछि अमेरिकी डेमोक्रयाटिक उच्च नेत्री नान्सी नेपाल आउन लागेकी हुन् । अमेरिकाले नेपाललाई यस क्षेत्रको रणनीतिक चासो रहेको मुलुकका रूपमा हेर्न थालेको अवस्थामा यस्तो भ्रमण बाक्लिएको हो । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेलगत्तै अमेरिकी उच्च नेतृत्वको नेपाल भ्रमण बाक्लिन थालेको परराष्ट्र अधिकारीले बताए ।

पूर्वराजदूत डा. शंकर शर्माले यस प्रकारको भ्रमणले नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा पुगेको सन्देश दिने बताए । ‘अमेरिकीहरू नेपाललाई माया गर्छन् । पुनर्निर्माणपछि अमेरिकी सहयोग हवात्तै बढेको छ । यसैले उनीहरूको चासो बढ्नु स्वभाविक हो । यो स्तरको राजनीतिक भ्रमणले सम्बन्धलाई थप खार्दै लैजानेछ,’ पूर्वराजदूतले भने, ‘नेपालको राजनीतिक अवस्थाबारेमा जानकारी लिने र विकास प्रक्रियामा हामी साथ छौं भन्ने सन्देश दिनु नै उनीहरूको भ्रमणको उद्देश्य हो ।’ नेपालको भूराजनीतिले पनि अमेरिकाको रणनीतिक चासोमा नेपाल परेको छ ।

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले दक्षिण एसियाको शान्तिका लागि मात्र नभई विश्व शान्तिमै नेपालको भूमिका रहने बताएको सातापछि नान्सी नेतृत्वको टोली नेपाल आउन लागेको हो ।


प्रकाशित : वैशाख २१, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?