कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दोस्रो चरण जेठ १४ सम्ममा गरौं : नेपाल

आयोगले ढिलो गर्न खोज्नु शंकास्पद : भट्टराई

काठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय चुनाव जेठको १४ मा गर्नु उपर्युक्त हुने सुझाएका छन् ।

दोस्रो चरण जेठ १४ सम्ममा गरौं : नेपाल

पूर्व प्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय चुनाव जेठको १४ गते सम्ममा गर्नु उपर्युक्त हुने सुझाएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालले बजेट र पहिलो चरणको मतपेटिका सुरक्षालगायतका कारणले ढिलोमा जेठ १४ गते नै चुनाव गरिनुपर्ने धारणा राखे । ‘एक महिनाको लामो अवधिमा चरणवद्ध गरिनुहुदैन । सरकारले जेठ ३१ को मिति तोक्दा हामीसँग सल्लाह पनि गरेन’, एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार भेटमा उनले भने । दोस्रो चरणको चुनाव अघि संविधान संसोधन हुन नसक्ने भएकाले तिथि लम्बाइरहनुको औचित्य नरहेको उनको धारणा थियो ।

नेपालले निर्वाचन सम्बद्ध कानुनहरु अविलम्व तयार गर्न सरकारलाई आग्रह गरे । त्यस्तै मतगणनासम्बन्धमा अन्योलता रहेकाले दलहरुसँग सल्लाह गरी निक्र्योलमा पुग्न आग्रह समेत गरे ।
‘दोस्रो चरणको चुनाव अघि नै बजेट ल्याई प्रभावित तुल्याउन खोजेको हो भने एमालेले त्यसलाई रोक्नेछ’, नेपालले भने ।

एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले दोस्रो चरणको चुनाव जेठ ३१ बाट अघि गराउन सके मतगणना एकैपटक गर्न पनि सकिने धारणा राखेका थिए । ‘पहिलो चरणको मतपरिणाम एमालेकै पक्षमा आउने भएकाले हामीलाई घाटा त हुन्न । तर, निर्वाचनको मूल्य मान्यता अनुसार पनि दुवै चरणको निर्वाचन चाँडै गरी मतगणना गरौं भन्ने हाम्रो भनाई हो’, भट्टराईले बताए ।

उनले पर्याप्त जनशक्ति र बजेट हुँदा पनि दोस्रो चरणको चुनाव पछि धकेल्न खोजी निर्वाचन आयोगले शंकास्पद भूमिका देखाउन लागेको भनी आलोचना समेत गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले स्थानीय चुनावलाई धाँधलीरहित र मर्यादित तुल्याउन आफ्नो पार्टीले विशेष भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए । 'निर्वाचनमा एमालेको गतिविधिबारे जानकारी दिन हामीले नियमित अन्तर्क्रिया समेत थालेका हौं,' थापाले भने ।

प्रकाशित : वैशाख २६, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?