कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनियमितता रोक्न चिकित्सा सामग्री निर्देशिका

अतुल मिश्र

काठमाडौं — स्वास्थ्यमन्त्री गगन थापालाई केही दिनअघि शल्यक्रिया सामग्री कारोबार गर्दै आएका एक व्यापारीले आफ्नै अनुभव सुनाए– १५ लाखमा खरिद गरेको उपकरण मैले यहाँ साढे दुई करोड रुपैयाँमा बेचेँ । यो यथार्थले मुलुकमा स्वास्थ्य सामग्री र उपकरण खरिदबिक्रीमा कुन हदको लुट रहेछ भन्ने झल्काउँछ ।

तर यो अवस्था अब रहने छैन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री, उपकरण बिक्रीवितरणमा हुने अनियमितता नीतिगत रूपमै रोक्न अग्रसरता लिएको छ । मन्त्रिपरिषद्ले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४ सोमबार पारित गरेको छ । जसमा स्वास्थ्य सामग्री, उपकरणको अधिकतम खुद्रा मूल्य निर्धारण गर्ने व्यवस्था छ ।

मन्त्रालयले औषधि परामर्श परिषद् (औषधि सल्लाहकार समिति) को सल्लाहअनुसार स्वास्थ्य सामग्री र उपकरणको अधिकतम खुद्रा मूल्य तोक्ने व्यवस्था गरेको हो । निर्देशिकाले प्रविधिजन्य स्वास्थ्य सामग्रीलाई परिभाषितसमेत गरेको छ । यसअन्तर्गत शल्यक्रिया गर्दा चाहिने सामग्री, साधन, औजार, यान्त्रिक सामग्री, चिकित्सकीय उपकरण, प्रत्यारोपण यन्त्र, मापन यन्त्र, गर्भनिरोधक साधन वा वस्तु पर्छन् ।

निर्देशिका आएपछि सस्तो मूल्यमा गुणस्तरीय स्वास्थ्य सामग्री र उपकरण किन्न सकिने जनाउँदै स्वास्थ्यमन्त्री थापाले भने, ‘यसले स्वास्थ्य सेवाको मूल्य कम मात्र हुँदैन, मुलुकको करोडौं रुपैयाँ जोगाउनेछ ।’ निर्देशिकामा स्वास्थ्यसँग सम्बन्धित उत्पादन, निकासी, पैठारी, बिक्रीवितरणमा गुणस्तर कायम हुने विशेष व्यवस्था गरिएको छ ।

अब प्रविधिसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरणको गुणस्तर नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय औषधि प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने व्यवस्थासमेत गरिएको छ । निर्देशिकाले यस सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डलाई नै आधार मान्ने व्यवस्था गरेको छ । डब्लूएचओद्वारा मापदण्ड निर्धारित नभएको स्थितिमा प्रचलित अन्तर्राष्ट्रिय मान्यताका आधारमा स्वास्थ्य सामग्री, उपकरणको राष्ट्रियस्तर निर्धारण गरिने जनाइएको छ । राष्ट्रियस्तर निर्धारण गर्दा मानव तथा पशुको स्वास्थ्यमा पर्ने असर तथा जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

उक्त निर्देशिकाअनुसार राष्ट्रिय स्तरअनुसारको गुणस्तर नभएको सामग्री र उपकरण उत्पादन र पैठारी गर्न पाइने छैन ।

प्रकाशित : वैशाख २७, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?