१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सरकारले आतंक मच्चायो : ओली

कार्यकर्ताको हत्यारालाई पक्राउ नगरी प्रहरी प्रशासनको दुरुपयोग गरिएको आरोप
आक्रमणमा परेका बुढाथोकी शिक्षण अस्पतालमा

काठमाडौं — एमाले अध्यक्ष केपी ओलीले चुनावी माहोल विथोल्न सरकार पक्षले आतंक सृजना गरेको आरोप लगाएका छन् । उनले दोलखालगायत क्षेत्रमा एमालेका कार्यकर्ता र समर्थकमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासन मौन बसेकोमा आपत्ति समेत जनाए ।

सरकारले आतंक मच्चायो : ओली

‘दोलखामा एमालेका कार्यकर्तालाई लखेटी लखेटी मारिएको छ । कैयौं घाइते छन् । तर, प्रहरीले आक्रमणकारी माओवादी नेता, कार्यकर्तालाई समातेको छैन । यो प्रहरी प्रशासनको चरम दुरुपयोग हो’, एमाले प्रचार विभागले बुधबार राजधानीमा गरेको विशेष प्रचार भेलामा अध्यक्ष ओलीले भने ।

मंगलबार राति पूर्वराज्यमन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेतृ देवी खड्का, विशाल खड्कासहितको समूहले दोलखाको जुँगुमा एमाले कार्यकर्तामाथि आक्रमण गरेको थियो । राति होटलमा खाना खाइरहेको बेला खुकुरी, भालासहितको आक्रमणमा परी एमालेका उम्मेदरवारका छोरा अन्दाजी ३३ वर्षका कुलबहादुर तामाङको मृत्यु भएको छ । गम्भीर घाइते बनेका शिक्षक दिलबहादुर बुढाथोकीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

माओवादी नेता–कार्यकर्ता मार्ने उद्देश्यसहित आक्रमण गरेको र स्थानीय जनताले अभियुक्तहरुलाई समाउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेकोमा अध्यक्ष ओलीले रोष प्रकट गरे । बाजुरा, स्याङ्जा, रुकुमलगायत जिल्लामा समेत आफ्ना कार्यकर्तामाथि हिंसात्मक आक्रमण गरिएको जानकारी ओलीले दिए । ‘यसरी आतंक राज सृजना गरेर देश कता जान्छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रश्न गरे ।

आक्रमणमा परेका बुढाथोकी शिक्षण अस्पतालमा 
यसैबीच, दोलखाको गौरीशंकर, जुंगुमा माओवादी आक्रमणमा परी गम्भीर घाइते भएका शिक्षक दिलबहादुर बुढाथोकीलाई महाराजगंजस्थित शिक्षण अस्पताल ल्याई उपचार गरिएको छ । उनको टाउको र ढाडमा धारिलो हतियारले गम्भीर चोट लागेको देखिएको र आकस्मिक कक्षमा राखी उपचार भइरहेको उपचारमा संलग्न डा.रक्षा श्रेष्ठले कान्तिपुरलाई जानकारी दिइन् । उक्त क्षेत्रका सांसद पार्वत गुरुङले मार्ने नियतले एमालेका कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको बताए । ‘माओवादीले जंगली शैली देखाए । प्रहरी प्रशासनले कानुनी दायरामा ल्याओस्’, गुरुङले भने । 

घाइतेको अवस्था बुझन एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली एमालेका अन्य नेता, कार्यकर्ता बुधबार दिउँसो अस्पताल पुगेका थिए । 

प्रकाशित : वैशाख २७, २०७४ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?